पर्यटकीय संभावनाले भरिएको जिरी ।।

काठमाडौं । झट्ट हेर्दा स्यानो देखिन्छ जिरी उपत्यका । उत्तर–दक्षिण फैलेको र पूर्व–पश्चिम साँघुरो हरित उपत्यका। यसलाई पहरा दिइरहेका डाँडापाखा एवं वस्ती पनि चित्ताकर्षक छन् । त्यसैले हप्ता दिनमा पनि सबैतिर घुम्न भ्याइँदैन।

सरकारले दोलखाका गाविसहरु माली, ठूलो पातल, श्यामा र जिरीलाई मिलाएर जिरी नगरपालिका बनाएपछि जिरी फैलेको छ जहाँ प्रशस्तै पर्यटकीय संभावना देखिन्छ । सबै संभावना पर्गेलेर जिरीलाई नयाँ ढंगले पर्यटन बजारमा पस्किन अबेला भैसक्यो। ‘नेपालको स्वीजरल्याण्ड’ र ‘सगरमाथाको प्रवेशद्वार’का रुपमा जिरी चर्चित छ । सगरमाथामा पहिलो मानव पाइला टेक्न सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरीबाटै त्यता गएका थिए । त्यस यता हजारौं पदयात्रीले जिरी हुँदै सगरमाथा क्षेत्र ओरीदोरी गरिसकेका छन्। सोलुखुम्बुको लुक्लामा विमानस्थल बनेपछि भने अधिकाँश पदयात्री उतैबाट सगरमाथा जान्छन् । जिरीतिरबाट जानेको संख्या न्यून छ । त्यसैले अब ‘सगरमाथाको प्रबेशद्वार’ उपमा पुरानो भैसक्यो । जिरी आफैंमा एउटा सुन्दर गन्तव्य हो । वाह्य र आन्तरिक दुबैखाले पर्यटक लोभ्याउन सामथ्र्य राख्छ नगरपालिकाले। सुन्दर बगैंचा जिरीमा प्रकृतिका इन्द्रेणी रंगहरू मात्र होइन, धार्मिक आस्थाका देवलहरु पनि प्रशस्तै छन् । साथमा आधुनिक होटल/रेष्टुँरा पनि । प्रेमिल वातावरण पाइन्छ त्यहाँ । त्यसैले सिँगो जिरी उपत्यकालाई ‘रोमाण्टिक डेष्टिनेशन’का रुपमा रिब्राण्डिङ गर्ने कि!

हनिमुन सिटीका रुपमा जिरीलाई चिनाउन सकिन्छ । त्यसो त सबैखाले पर्यटक रमाउन सक्छन् त्यहाँ । धार्मिक, प्राकृतिक र सांस्कृतिक हिसाबले जिरी क्षेत्र उत्तम छ । त्यहाँ गुम्बा, छोर्तेन, मन्दिर र प्राचीन वस्ती छन्।

जिरी बजार सेरोफेरोमा जिरेश्वर, ढुँगेश्वरी, राङराङेश्वरी र देवी मन्दिर छन् । डेढदेखि तीन किमि दुरीमा छन् यी मन्दिर । अर्को पवित्र गन्तव्य–हलेसीधाम । बजारबाट पूर्व १२ किमि दुरीको मालीमा गुफाभित्र छन् महादेव।

बजारमै छ ५१ फिट अग्लो छोर्तेन । त्यसभन्दा मास्तिर गुरु पद्यसंभवको मूर्ति छ । त्यसको शिरानको सामाजिक सेवा केन्द्रमा बुद्धका मूर्ति छन् । बजारबाट एक घन्टा पदयात्रामा कुन्साल थोर्दोलिङ गुम्बा पुगिन्छ जहाँ आनी र लामा पढाई हुन्छ।

जिरी बजारबाट तीन घन्टा उकालो चढेमा च्र्योदोङ चिज कारखाना पुगिन्छ । त्यहाँ वैशाखदेखि कात्तिकसम्म चिज बनाइन्छ। जिरी क्षेत्रको अर्को सम्पदा च्योर्दोङ डाँडा (३,६९० मिटर) हो । त्यहाँ महादेव दर्शनसँगै रोल्वालिङ, नुम्बुर र लाङटाङ हिमालको लामो लर्कन देखिन्छ । बजारबाट ६ घन्टा पदयात्रामा डाँडामा पुगिन्छ । डाँडामा खाने/बस्ने सुविधा भने छैन।

जिरी बजारबाट पश्चिममा चिहान डाँडा छ । त्यहाँबाट बजारको दृश्य सुन्दर देखिन्छ । त्यही चिहान डाँडा नजिकै बुद्ध पार्क छ । बुद्धिस्ट एकेडेमी एण्ड रिसर्च सेन्टरले १० लाख खर्चेर बनाएको पार्क । डाँडालाई आध्यात्मिक पर्यटन केन्द्रका रुपमा चिनाउन पार्क बनाइएको सेन्टरका अध्यक्ष इन्द्रबहादुर खड्का बताउँछन्।

जिरीमा होमस्टे पर्यटन विकास गर्न लायक गाउँ हुन् सिक्री र यलुङ । सिक्री जिरेल वस्ती हो भने यलुङ चाहिँ शेर्पा । तामाङ र सुनुवार वस्ती ठूला पातलमा पनि होमस्टे गराउन सकिन्छ। जिरी बजार मुन्तिर गाई फारम, प्राविधिक शिक्षालय, अस्पताल लगायत सम्पदा छन् । फारमका गाई चउरमा चरिरहेका दृश्य खिचिरहुँ झैं लाग्छ।

मनसुन यात्रामा लौती झरना छुटाउनु हुँदैन । जिरीको हाटडाँडाबाट ३ किमि कटेपछि कुँडारमा तीनवटा झरना छन् । सबैभन्दा ठूलो लौती झरना । कसैले नापो लिएको छैन झरनाको, सबै आ–आफ्नै हिसाबले लम्बाई अनुमान गर्छन् । दुईटा बर्खे झरना हुन्, लौतीमा चाहिँ हिउँदमा पनि पानी हुन्छ। झरना नजिकै ट्राउट पालन छ । चिया बगान छ । लौती छाँगोमा क्यानोनिङ खेल खेलाउन सके जिरीमा नयाँ प्रोडक्ट थपिनेथियो। हरिया डाँडाकाँडा भएकाले जिरी हाइकिङप्रेमीको स्वर्ग हो । तर, त्यहाँ हाइकिङ कल्चर विकास भैसकेको छैन । दोलखा उद्योग वाणिज्य संघका उपाध्यक्ष बाबुराजा श्रेष्ठले हाइकिङ जागरण ल्याउन पहल गरिरहेका छन्।

‘म हरेक शनिबार डाँडापाखामा हाइकिङ गर्छु तर’, उनी दुखेसो गर्छन्, ‘सँगै हिँडौं भनेर आब्हान गर्दा समेत एक्लै हुन्छु।’ जिरीमा बस्नेहरुलाई हाइकिङको महत्व बुझाउन बाँकी छ । बजारमा बसोबास गर्नेहरु र प्राविधिक शिक्षालयका विद्यार्थीलाई महत्व बुझाउन सके जिरीमा हाइकिङ जागरण ल्याउन समस्या हुँदैन। लामो दुरीको पदयात्रा पनि गर्न सकिन्छ । बजारबाट हनुमन्ते डाँडा हुँदै ठूलो नागी, च्योर्दोङ, यलुङ भएर जिरीसम्म पदयात्रा । ठूलोनागी (३,०३० मिटर) बाट हिमालकोे राम्रो दर्शन मिल्छ । त्यो डाँडामुन्तिर गुराँस पार्क छ। मार्केटिङको पर्खाइमा रहेको अर्को धार्मिक गन्तव्य हो पाँचपोखरी । जिरी र रामेछापको साँधमा पर्ने जटापोखरी र पाँच पोखरीमा जनै पुर्णेमा मेला लाग्छ।

यसरी अनगिन्ति सम्पदाले भरिपूर्ण छ जिरी नगरपालिका । जिरी उपत्यकाका आदिवासी जिरेल हुन् । खासमा जिरेल किरात समुदायको एउटा शाखा हो । विद्ववानद्वय टेकबहादुर जिरेल र सुमन जिरेलका अनुसार केही पुस्ता अघि मात्रै जिरेलले बुद्ध धर्म अबलम्बन गरेका हुन्। नगरपालिका क्षेत्रमा जिरेल बाहेक शेर्पा, सुनुवार, विश्वकर्मा, तामाङ, नेवार, क्षेत्री, बाहुन आदिको बसोबास छ । त्यसैले जातजातिको सुन्दर फूलबारी बनेको छ जिरी। जिरीमा पर्यटकीय सुविधाका दर्जन भन्दा बढी होटल तथा लज छन् । राम्रा होटल थपिँदैछन् । जिरीको छ्याङ, तोङबा, र सुकुटी प्रख्यात छ। समग्र जिरी नगरपालिकालाई पर्यटकीय गन्तव्य बनाउन सकिन्छ । जिरी क्षेत्रका पर्यटकीय सम्पदाको राम्रो ब्राण्डिङ गरेर पूर्वाधार विकास एवं मार्केटिङ गर्न तन्नेरीहरुको संस्था ‘प्रगतिशील युवा सशक्तीकरण केन्द्र’ लागिपरेको छ।

यो त भयो पर्यटनको कुरा, जिरीको विकासमा स्विजरल्याण्डको योगदान भुल्नै सकिन्न । स्विस सरकारले २०१४ सालदेखि ‘जिरी बहुद्देश्यीय विकास परियोजना’ मार्फत दोलखाको कृषि, सडक, शिक्षा, स्वास्थ्य र ग्रामीण विकासमा सहयोग गर्दै आएको छ। स्वीजरल्याण्डको जुरिच र जिरीको भुगोल एवं हावापानी मिल्दोजुल्दो भएकाले जिरीलाई नेपालको स्विजरल्याण्ड भनिएको हो । स्वीस भूगर्भविद् टोनी हेगनका कारण जिरीले विकासको काँचुली फेरेको हो । उनकै चाहना अनुसार स्विस सरकारले जिरीबाट नेपालको विकासमा हात बढाएको थियो। दोलखालीका भगवान हुन् टोनी हेगन । जिरीबासीले उनको प्रतिमासहित सुन्दर पार्क कहिले बनाउलान्?

टोनी हेगन पार्क बन्यो भने त्यो पनि पर्यटकीय आकर्षण बन्नेछ। दोलखाली तारा जिरी नगरपालिका क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्य बनाउने सपना आँखाभरि सजाएका तन्नेरी लिलाराम खड्काको योगदान प्रशंसनिय छ। मान्छे एक्लै जन्मन्छ, एक्लै मरेर जान्छ । जीवनमा जतिसुकै धनदौलत कमाओस् मर्ने बेला उसले केही लान पाउँदैन । त्यसैले हामी आफ्ना लागि मात्र होइन, समाजका लागि पनि बाँच्नु पर्छ । तब मात्र आत्मसंतुष्टि मिल्छ । जीवन सार्थक बन्छ। बाँच्नलाई पैसा चाहिन्छ तर पैसा नै सबथोक होइन । यो सत्य जिरीका तन्नेरी लिलाराम खड्काले राम्रोसँग बुझेका छन् । कलिलै उमेरमा समाजसेवातिर लागेका उनले सुखद भबिश्यको संकेत गरेका छन्।

प्रगतिशील युवा शसक्तिकरण केन्द्र मार्फत उनी जिरीको सामाजिक र पर्यटकीय विकासमा अगुवाई गर्दै आएका छन् । एकताका ‘सगरमाथाको प्रवेशद्वार’का रुपमा जिरी चर्चित थियो । अचेल अधिकाँश पर्यटक लुक्ला हुँदै सगरमाथा ओरीदोरी गर्छन् । त्यसैले जिरीमा आक्कल झुक्कल मात्र विदेशी आइपुग्छन् । जिरीलाई पर्यटन बजारमा नयाँ ढँगले पस्केर पर्यटकको चहलपहल बढाउने मिसनमा हिँडेका छन् खड्का । त्यसका लागि समग्र जिरी नगरपालिका क्षेत्रको संभावना ‘एक्सप्लोर’ गरेर प्याकेजिङ गर्दैछन्।

जिरी नगरपालिका नेतृत्वले गर्नु पर्ने काम गरेका छन् उनले । पछिल्लो चार वर्षदेखि उनी काठमाडौंको नयाँ बानेश्वरमा ‘प्यानेसिया एजुकेशन फाउण्डेशन’ खोलेर विद्यार्थीलाई जापान पठाउँदै आएका छन् । अहिले दुई–चार पैसा कमाएपछि मात्र समाज सेवामा हाम्फालेका होइनन, एक दशकदेखि उनको केन्द्र जिरीमा क्रियाशिल छ।

केन्द्रले केही वर्ष अघि जिरीको पर्यटकीय नक्शा, पोष्टर, क्यालेन्डर लगायत प्रवद्र्धनात्मक सामाग्री उत्पादन गरेको थियो । उसले वर्षेनी काठमाडौंका ‘ट्राभल राइटर’लाई घुमाएर जिरी प्रवद्र्धन गर्दै आएको छ। विगतमा केन्द्रले जिरी उपत्यकामा साइक्लिङ पर्यटनको संभावना समेत अध्ययन गरेको थियो । हाटडाँडाबाट हुनमन्ते, ठूलो नागी, च्र्योदोङ भएर यलुङ हुँदै जिरी बजारसम्म पदयात्रा गर्न ‘जिरी चिज सर्किट’ समेत एक्सप्लोर गरेको छ। केन्द्रले चाँडै नै जिरीको पर्यटकीय बुकलेट प्रकाशन गर्दैछ । वेवसाइट र युट्युव भिडियो बनाउँदैछ । नयाँ पोस्टर प्रकाशन गर्दैछ । सिक्री गाउँमा होमस्टे शुभारम्भ गर्न हातेमालो गर्दैछ । सडकमा जिरीको पर्यटकीय होर्डिङ बोर्ड राख्ने योजना बुन्दैछ। ‘त्यतिमात्र होइन’, उनी सुनाउँछन्, ‘जिरीमा पर्यटन बढाउन सरोकारवालाको ध्यानाकर्षण गराउने उद्देश्यले दसैं अगाडि नै काठमाडौंमा राष्ट्रियस्तरको कार्यक्रम गर्दैछौं।’ सबै कार्यक्रममा उनी मन खोलेर खर्च गर्दै आएका छन् । उनको होस्टेमा सधैं हैंसे गर्छ उनको परिवार। लिलाराम भर्खर २८ वर्षका भए । सानैदेखि सामाजिक जागरणमा लागेका उनले जीवनमा धेरै पैसा कमाउलान्, जन्मथलोको ऋण तिर्न यसैगरी योगदान पु-याउँदै गए भने मात्र उनले सधैं आशिष पाइरहनेछन् । शुभकामना दोलखाली तारालाई !

यातायात
काठमाडौं–लामोसाँघु–जिरी १८८ किमि । लामोसाँघु–चरिकोट खण्डमा सडक विस्तार भैरहेको छ । त्यसैले काठमाडौं–खुर्कोट–मन्थली–जिरी २१३ किमि यात्रा, जिपमा ८ घन्टा । काठमाडौंको कोटेश्वरबाट जिप र पुरानो बसपार्कबाट बस तथा माइक्रोबस छुट्छन्।

खर्च
१०,००० रुपैयाँ । यति रकमले जिरी–काठमाडौं–जिरी बस भाडा, लन्च, डिनर, तीन रात बास र ब्रेकफास्टलाई पुग्छ । जिरी क्षेत्र राम्रोसँग घुमफिर गर्न कम्तिमा तीन रात छुट्टयाउनु पर्छ । कोसेलीका लागि थप रकम चाहिन्छ।

के लाने
मौसम अनुसार कपडा बोक्ने । स्पोर्टश शु, चप्पल, हाफ प्यान्ट, टिशर्ट, क्याप, सन ग्लास, छाता, रुकस्याक, पानी बोतल, क्यामेरा, डायरी, कलम, टावल, सनक्रिम आदि । शितल गन्तव्य भएकाले बिहान र बेलुकाको लागि पातलो ज्याकेट बोक्ने।

कोसेली
जनबोलीमा ‘याक चिज’ भनिन्छ । खासमा याक हिमालतिर पाइने भाले गाई भएकाले त्यसले दुध दिने कुरा भएन । पोथी अर्थात चौंरी गाईको दुधबाट बनेको चिज, छुर्पी, डल्ले खुर्सानी, गेडागुडी, काष्ठकला र हस्तकलाका सामाग्री जिरी बजारमा पाइन्छ। जिरेल परिकार जिरीका आदिवासी हुन् जिरेल । उनीहरुको आफ्नै भाषा, संस्कृति र जीवनशैली छ । जिरेलका आफ्नै परिकार छन् । मौसम अनुसारका परिकार पाक्छ भान्छामा । ती परिकार स्वादिलो र लाभदायक मानिन्छ।

जिरेल परिकारलाई मेनुमा ल्याएको छ जिरी बजारको ‘होटल गाबिला’ले । पाहुनाले चाख्न चाहेमा उसले आलुको रोटी, मोरे, फाल, रिल्दोक, सिल्मा, जरिंगो, ऐरे, फूलौरा, पोल्देक, पुवा लगायत परिकार खुवाउँछ।

गाबिला त्यही होटल हो जुन विगतमा ‘जिरेल गाबिला’का नाउँले चर्चित थियो । अचेल ‘होटल गाबिला’ मात्रै भनिन्छ । केशर जिरेलले ०५४ असोजदेखि होटल चलाएका हुन् । जम्मा ८ कोठाबाट सुरु गरिएको होटलमा आज अट्याच बाथरुम सहितका २१ कोठा र अरु ३ कोठा छन् । सेमिनार हल पनि बनाएका छन्।

१२ वैशाख ०७२ को भुइँचालोले क्षतिग्रस्त होटल पुननिर्माण गरिएको हो । जिरीमा धमाधम आधुनिक होटल थपिँदैछन्। स्रोत: नागरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *