अस्ट्रेलियामा दुई दर्जन बढी कलेजको दर्ता खारेजी, नेपाली विद्यार्थीलाई यस्तो असर

सिड्नी – अस्ट्रेलियाको शैक्षिक क्षेत्र नियमनकारी निकाय (एएसक्युए) ले २७ वटा कलेजहरूको दर्ता खारेज गर्ने निर्णय गरेको छ । व्यावसायिक शिक्षा तथा प्राविधिक तालिम दिइरहेका यी कलेजहरूलाई गत सेप्टेम्बर १० तारिखमा आसक्वाले दर्ता खारेज गर्ने निर्णय गरेको हो । आसक्वाले नीजि क्षेत्रद्वारा संचालित कलेजहरूले तोकिएका न्यूनतम मापदण्डहरू पूरा नगरेको भेटिएमा तिनीहरूको दर्ता खारेजी गर्दछ ।

अस्ट्रेलियन स्किल क्वालिटी अथोरिटी (एएसक्युए) ले यो निर्णय गरे तापनि सम्बन्धित कलेजले माथिल्लो निकायमा पुनरावेदन गर्ने अधिकार भने रहन्छ ।यसअघि पनि विभिन्न भेट कलेजहरूको दर्ता खारेजी हुँदा ती कलेजमा अध्ययनरत विद्यार्थीहरूले समस्या भोग्नुपरेको थियो । त्यस्तो समस्या भोग्नेहरूमा नेपाली विद्यार्थीहरू पनि उल्लेख्य मात्रामा थिए ।यसरी बारम्बार व्यावसायिक शिक्षा तथा तालिम दिने कलेजहरूको दर्ता खारेजी हुनुले यस्ता कलेजहरूको गुणस्तरमाथि प्रश्न मात्र उठ्ने होइन यसले अस्ट्रेलियाको समग्र शैक्षिक प्रणालीमाथि पनि प्रश्न चिह्न उठाउने काम गरेको देखिन्छ ।

अस्ट्रेलियामा शैक्षिक गुणस्तरियतालाई कायम राख्नका लागि आसक्वाले कलेजहरूको नियमन गर्ने प्रक्रिया पहिलेदेखि नै चलिआएको हुनाले यसलाई नौलो मान्नुपर्ने आवश्यकता नरहेको कानुन व्यवसायी डा. शमशेर सिंह थापा बताउँछन् । उनी भन्छन्, “दर्ता खारेजीमा परेका कलेजहरूले सो निर्णयविरुद्ध पुनरावेदन गर्न सक्छन् । पुनरावेदनपश्चात् ती निर्णयहरू सदर वा बदर हुन सक्छन् । यो पहिलेदेखि नै भइरहेको प्रक्रिया हो । पहिले पनि धेरै भोकेसनल अर्थात् व्यावसायिक कलेजहरूको दर्ता खारेज भएर बन्द भएका अनि पुनरावेदनपश्चात् निर्णय बदर भएर पुनः सञ्चालनमा आएका पनि छन् । अझ, कतिपय मामिलाहरूमा कलेज संचालकहरूले आर्थिक प्रलोभनमा परेर आफैले कलेज रद्द गराएका घटना पनि छन् । यसतर्फ सम्बद्ध सबै पक्षहरू सचेत हुनु जरुरी छ ।”

डा. थापा अगाडि थप्छन्, “विद्यार्थीले मुख्य रूपमा भोकेसनल र एकेडेमिक कलेजबीचको भिन्नता बुझेर मान्यताप्राप्त परामर्शतादातासँग मात्र परामर्श लिनुका साथै आफैले पनि यथेष्ट रूपमा गुगल तथा अन्य वेबसाइटहरूको माध्यमबाट राम्रोसँग बुझेर मात्रै निर्णय लिनुपर्दछ । यसमा शैक्षिक परामर्शदर्ताको भूमिका जति महत्वपूर्ण हुन्छ त्यति नै रूपमा विद्यार्थीले पनि आफ्नो भविष्यलाई प्राथमिकतामा राखेर मात्रै कलेज छानेर अस्ट्रेलिया आउनुपर्दछ ।” अस्ट्रेलियन एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन (एका) का अध्यक्ष परशुराम अधिकारीले भोकेसनल तथा तालिम दिने कलेजहरूको दर्ता खारेज हुनु नयाँ कुरा नभए पनि यस्ता घटना बारम्बार दोहोरिरहनुले ती कलेजहरू गुणस्तरीयतातर्फ चुकेका त छैनन् भन्ने प्रश्न खडा गरेको बताउँछन् ।

उनी भन्छन्, “भेट कलेज भन्दैमा सबै नराम्रा त पक्कै छैनन् तर केही सीमित मानिसहरूले यस पेशालाई गुणतरीय सेवा दिनुभन्दा पनि छिट्टै पैसा कमाउने माध्यम बनाउन खोज्दा यो धेरैभन्दा धेरै कलेजहरूको दर्ता खारेजी हुने अवस्था आएको देखिन्छ । यसतर्फ सम्बन्धित सबै पक्षले ध्यान दिनु जरुरी भइसकेको छ ।” “विश्वमै उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा रहेको अस्ट्रेलियामा विद्यार्थीले कलेज छान्दा कलेजसम्बन्धी यथेष्ट जानकारी लिएर अनि मान्यताप्राप्त परामर्शदाताबाट परामर्श लिनुपर्दछ । साथै, शैक्षिक क्षेत्रमा व्यवसाय गर्नेहरूले पनि यो क्षेत्र व्यापारमुखी नभई सेवामुखी बनाउनु आवश्यक छ ।

शिक्षा क्षेत्र विश्वसनियताको आधारमा चल्ने भएकाले छिट्टै कमाउने मनसाय राख्नेहरूलाई लागि नियमनकारी संस्थाले शुरुमैं दर्ता दिने समयमा अझ कडाइका साथ प्रस्तुत हुनु जरुरी छ ।”, अधिकारीको कथन छ । अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीको साझा संगठन काउन्सिल फर इन्टरनेसनल स्टुडेन्डस इन अस्ट्रेलिया (सिसा) का पूर्व अध्यक्ष विजय सापकोटाले एकैसाथ यतिका धेरै कलेजहरूको दर्ता खारेजी हुनुले अस्ट्रेलियाको शैक्षिक गुणस्तरियतामा समेत नकारात्मक सन्देश जाने भएकाले सम्बन्धित निकायले ध्यान दिनु जरुरी रहेको बताउँछन् । उनी भन्छन्, “कुनै पनि शैक्षिक निकायलाई दर्ता दिने वेलामा नै कडाइ गरियो भने पछि यस्तो भयावह स्थिति आउँदैन । साथै, विद्यार्थीहरू आफ्नो भविष्यप्रति चिन्तित रहने स्थिति पनि आउँदैन । यसतर्फ कहीँ न कहीँ सरकारी पक्ष पनि चुकेको आभाष पाइन्छ ।”

“त्यसका अलावा विद्यार्थीहरूले गुणस्तरीय शैक्षिक संस्था खोज्नका लागि आफैले गृहकार्य गरेर ती कलेजहरूले पढाइबाहेक अतिरिक्त क्रियाकलापहरू केके प्रदान गर्छन, अध्ययन गर्ने विषय तथा प्राध्यापकहरू कोको छन् आदि जस्ता सामान्य प्रश्नहरूलाई हेलचेक्र्याइ नगरिकन जानकार हुन जरुरी छ । नेपाली विद्यार्थीहरू आफ्नो रुचि र भविष्यभन्दा पनि सामाजिक प्रवृत्तिमा दगुर्ने वानीले गर्दा लहलहैमा निर्णय गरेर पछि पछुताउने घटनाहरू बढेको छ । यसतर्फ विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबै पक्षले ध्यान दिनुपर्दछ ।”

यतिवेला करिब ५० हजारको हाराहारीमा नेपाली विद्यार्थी अस्ट्रेलियामा अध्ययनरत रहेको अनौपचारिक तथ्याङ्क छ । नेपाली विद्यार्थीहरू पैसा जोगाउन लहलहैमा न्यूनतम मापदण्ड पनि पूरा नगरेका कलेजहरूमा आउँदा पछि समस्यामा पर्ने गरेका छन् । यसले गर्दा एकातिर विद्यार्थीलाई मानसिक चिन्ता थपिने त छँदैछ त्यसमाथि दर्ता खारेज भइहालेको खण्डमा नयाँ कलेजमा भर्ना हुँदा समयको समेत बरबादी हुने गरेको छ । त्यसैले गर्दा पनि विद्यार्थीहरूले आफूले पढ्ने कलेज छान्दा सावधान हुनुपर्ने जानकारहरू बताउँछन् । विदेशिने रहर, बाध्यता तथा गलत परामर्शले गर्दा नेपाली विद्यार्थीहरू अस्ट्रेलियामा आएर पनि बारम्बार आफ्नो भविष्यलाई दाउमा लगाउन बाध्य भएका छन् । सरकारले नेपालमा परामर्श व्यवसायलाई नियमन गर्न नसक्नुले पनि यस्तो समस्या अझ भयाभह बनेको देखिन्छ ।देश्सान्चार बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *