ओमप्रकाश गुप्ता
भालुवाङ १० माघ । इन्द्रेणी युवा क्लव भालुवाङको आयोजनामा सञ्चालित दोस्रो राप्ती कृषि, पर्यटन, औद्योगीक तथा व्यापारीक महोत्सवको बुधवार एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ ।
“कृषि उद्योग व्यापार तथा पर्यटकको आगमन, राप्ती कृषि, पर्यटन महोत्सव २०७४ को अभियान” भन्ने मुल नाराका साथ क्लवको भवन निमार्ण सँगै समग्र भालुवाङको विकासका लागि पुस २८ देखि माघ १० गते सम्म राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक स्थीत निमार्णाधिन बसपार्कमा सञ्चालित महोत्सव सम्पन्न भएको हो ।
महोत्सव मूल आयोजक समितीका अध्यक्ष तथा क्लबका अध्यक्ष भिमबहादुर मरासिनीको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले यस्ता महोत्सवले व्यापारीक, पर्यटन र कृषि तथा औद्योगीक क्षेत्रमा सहयोग मिल्ने बताएका थिए । सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ताराबहादुर डिसी, भालुवाङ होटल व्यवसाय समितिका अध्यक्ष महेश बेल्वासे, भालुवाङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर गुरुङ र देउखुरी टुडेका प्रकाशक सम्पादक सन्तोष कुमार गुप्ता लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गरेका थिए । महोत्सवमा सञ्चालित राप्ती आइडल प्रतियोगितामा न्यू डान्स क्रेयशन प्रथम, ए.आर..के ग्रुप दोस्रो,ममता जि.एम तेस्रो र रोशन विसीले सान्त्वना स्थान प्राप्त गरेका थिए । प्रतियोगीतामा प्रथम हुनेलाई नगद २० हजार र ३ वटा म्युजिक भिडियोमा खेल्ने अवसर, दोस्रो हुनेलाई १५ हजार नगद र २ वटा म्युजिक भिडियोमा खेल्ने अवसर, तेस्रोलाई १० हजार नगद र १ वटा म्युजिक भिडियोमा खेल्ने अवसर र सान्त्वना हुनेलाई ५ हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले बताएको छ । साथै महोत्सवलाई आ आफनो क्षेत्रबाट महत्वपुर्ण योगदान पु¥याएका संघ संस्था, सञ्चारकर्मी, विभिन्न उपसमितिका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो । समापन कार्यक्रमको सञ्चालन पत्रकार हिमाल खड्काले गरेका थिए ।
महोत्सवमा १ सय ८० वटा स्टल रहेको थियो । १३ दिन सम्म चलेको महोत्सवमा करिव १० लाख दर्शकले मेला अवलोकन गरेका थिए भने करिव कुल ३ करोड बढीको कारोवार भएको महोत्सवका प्रेस संयोजक सन्तोष कुमार गुप्ताले जानकारी दिएका छन् । महोत्सवको बुधवार मात्रै १५ हजार बढी दर्शकले मेला अवलोकन गरेका थिए भने ५ लाख बढीको कारोवार भएको संयोजक गुप्ताले जानकारी दिएका छन् । वास्तविक आम्दानी तथा खर्च विवरण भने एक हप्ता भित्रमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने महोत्सव मूल आयोजक समितीका अध्यक्ष भिमबहादुर मरासिनीले जानकारी दिएका छन् । यसै बिच महोत्सवको बुधवार अन्तिम दिनमा बहुचर्चित आधुनिक गायक प्रमोद खरेल आउने खवरले गाउँ गाउँबाट स्थानीयहरु महोत्सव हेर्न गएका थिए । महोत्सवमा अहिले सम्मकै सवै भन्दा बढी भीड रहेको आयोजकले बताएको छ । प्रमोद खरेलले अन्त माया लाको भए,मुस्किल छ पोखरामा,लागी लागी जस्ता आधा दर्जन बढी गीत गाउँदा दर्शकहरु हुटिङ मात्र गरेनन् आ आफनै स्थानमा उठेर धुलो उडाइ उडाइ नाचेका थिए । साँझको ७ बजी सक्दा पनि दर्शकको थामी नसक्नुको भिड रहेको थियो । उनको दमदार ती गीतहरुले दर्शकहरुको हुटिङलाई प्रहरी र स्वमसेवकहरुलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । साथै अन्य गायकहरुले पनि दर्शकहरुलाई छमछमी नचाएका थिए । महोत्सव अवधीभर पत्रकाहरुलाई समाचार सम्पेषण गर्न नेट तथा वाईफाईको समेत व्यवस्था गरिएका थियो । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि, हस्तकला तथा पशुजन्य उत्पादनको प्रर्दशनी, चर्खे पिङ, मौतकुवा, स्वका लागि धरहरा लगायत महोत्सवको मुख्य आकर्षणका केन्द्रहरु रहेका थिए । महोत्सव अवधीभर ख्याती प्राप्त केन्द्रिय, राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको वेजोड प्रस्तुती रहेको महोत्सवका कार्यक्रम निर्देशक बिराज बिष्टले जानकारी दिएका छन् । महोत्सवले यस क्षेत्रको समग्र शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक, कृषि, उर्जा एवम् पर्यटन लगायतका समग्र क्षेत्रको विकास गर्ने लक्ष्य लिईएको थियो ।
महोत्सव अवधीभर प्रवेश शुल्क प्रति व्यक्ति ६० र विद्यार्थी, अपाङग, जनआन्दोलनका घाइते तथा जेष्ठ नागरिकहरुलाई परिचयपत्रका आधारमा रु ४० र दृष्टिविहिन, पूर्ण शारिरीक अपाङग र ७५ वर्ष उमेर भन्दा माथिका जेष्ठ नागरिक तथा पत्रकारहरुलाई परिचयपत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको महोत्सवका सचिवालय संयोजक सन्तोषकुमार योगीले जानकारी दिएका छन् ।
