हत्याको तुरुन्त सत्यतथ्य अनुसन्धान गरि अपराधीलाई कारबाहीको माग
दाङ, ६ चैत ।
भालुबाङका मुस्कान नेपालीको सामुहिक बलात्कारपछि हत्या गरिएको विरोधमा अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङको अगुवाईमा विरोध प्रदर्शन गरिएको छ । फागुन २१ गते भालुबाङनजिकै दाङ र अर्घाखाचीको सिमानामा पर्ने जंगलमा मुस्कान नेपालीको अर्धनग्न अवस्थामा सामुहिक बलात्कारपछि हत्या गरि फालिएको अवस्थामा शव भेटिएको थियो । उक्त घटनाके विरोधमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङको आयोजनामा दैनिक मजदुरी गरेर खाने गरिब निमुखा मुस्कानको हत्याको विरोध गर्दै हत्याको सत्यतथ्य छानबिन गर, घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारबाही गर, महिलामाथि हुने हत्या, हिंसा बलात्कार बन्द गर, महिला हिंसा अन्त्य गरौं, महिलामाथि हुने सम्पूर्ण दमन तथा उत्पीडनका विरुद्ध संघर्ष गरौंैं, सम्पूर्ण श्रमजीवि महिलाहरु एक हौं लगायतका नारा जुलुस गर्दै आज भालुबाङको विभिन्न ठाउँको परिक्रमा गर्दै तीनकुने चोकमा कोणसभा भएको थियो ।
सभालाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङका जिल्ला अध्यक्ष जानकी दहितले मुस्कान नेपालीको हत्याको तुरुन्त सत्यतथ्य अनुसन्धान गरि अपराधीलाई सोहीअनुसारको कारबाही हुनुपर्ने बताउनुभयो । प्रहरी प्रशासन र डाक्टरहरुको पोष्टमार्टम रिपोर्टले स्पष्ट सामुहिक बलात्कारपछि हत्या भएको नभनिएकोमा आक्रोश व्यक्त गर्दै गरिब निमुखा मुस्कानको घटना ढाकछोप गर्न खोजिएको त होइन उहँले प्रश्न गर्नुभयो । प्रहरीले लमही अस्पताललाई पोष्टमार्टमका लागि सिफारिस गर्दा कुन प्रकतिको घटना हो स्पष्ट किटान नगर्नु, हचुवाको भरमा डाक्टरले पोष्टमार्टम गर्नु प्रशासनको गम्भीर लापरबाही भएको भन्दै घटनालाई कसैको मिलीमतोमा नभएर गम्भीरतापूर्वक सहि ढंगले छानबिन गर्न आग्रह गर्नुभयो । देशमा अहिलेको व्यवस्थाले कुनै पनि घटनाको अपराधीलाई ढण्डित गर्न आवश्यक प्रमााण जुटाउन वा पिडितको पक्षमा न्याय दिलाउन असक्षम रहेकाले समाजमा दिनानुदिन बलात्कार, हत्या, हिंसाका घटना बढिरहेको र अपराधीक घटनाले प्रश्रय पाइरहेकाले यो व्यवस्थाको विकल्पमा गरिब निमुखाहरुको सहि न्याय दिने वैज्ञानिक व्यवस्था स्थापनाको पक्षमा लाग्न आह्वान गर्नुभयो । कार्यक्रममा बोल्ने वक्ताहरुले मुस्कान नेपालीको हत्याका कारण यथाशिघ्र सार्वजनिक गर्न माग गर्दै घटनामा संलग्नलाई सोहिअनुसार सजायको कठघरामा उभ्याउन माग गरेका छन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी राप्ती गाउँपालिका सेक्रेटरी भिम प्रकाश पुन, दलित मुक्तिमोर्चा नेपाल दाङका अध्यक्ष सुरज परियार, स्थानीय महिलाबाट बिस्पुरा घर्ति मगर लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङका सह सचिव अशोका भण्डारीले गर्नुभएको थियो । यसैबीच सोही कार्यक्रमका बीच दाङमा एकिकृत महिला जागरण उद्घाटन गरिएको छ । महिलामाथि भैरहेका सम्पूर्ण दमनका विरुद्ध संघर्ष गरौं! वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढौं!! भन्ने मूल नाराका साथ सुरु गरिएको अभियानको पहिलो दिन आज सामुहिक बलात्कारपछि मुस्कान नेपालीको हत्याको विरोधमा भालुबाङमा विरोधप्रदर्शन तथा विरोधसभा गर्दै गाडिमा महिलामाथि हिंसा तथा दुरव्यवहारजन्य क्रियाकलाप नगरि व्यवहारिक रुपमै स्वतन्त्रतापूर्वक गाडिमा आवतजावतको वातावरण मिलाउन सबैलाई जानकारी गराइएको छ । गाडिमा अनिवार्य महिला सिटमा महिला हुनुपर्ने र यात्रामा आवातजावत गर्दा महिलामैत्री स्वतन्त्र र सभ्य व्यवहार गर्न यातायातका साधन, गाडि चालक, यातायात समिति, ट्राफिक प्रहरी तथा गाडिमा चढ्ने यात्रुलाई भेटेर जानकारी गराएको र यो अभियानलाई भालुबाङबाट सुरुवात गर्दै पश्चिम दाङसम्म पुर्याउने सो संगठनले जनाएको छ ।