ओमप्रकाश गुप्ता
भालुवाङ २२ वैशाख । राज्य दमनका विरुद्ध नेपाल कम्युनिष्ट पार्टीले शनिवार आह्वान गरेको नेपाल बन्दको प्रभाव देउखुरीमा बिहानै देखि परेको छ । बन्दका कारण बिहानै देखि लामो तथा छोटो दूरीमा चल्ने यातायातका साधनहरु चल्न सकेका छैनन् भने बन्दका कारण देउखुरीको लमही, भालुवाङ, सिसहनियाँ, गढवा लगायतका बजारहरु पनि बन्द रहेका छन् । स्कुल कलकारखाना पनि ठप्प रहेका छन् । उता इलाका प्रहरी कार्यालय भालुवाङले अप्रिय घटना हुन नदिन चोकचाकमा प्रहरी खटाएको छ भने विप्लपका कार्यकर्तालाई विषेश निगरानीमा राखेको छ । भालुवाङ तथा लमहीमा गाडी जम्मा हुना साथ स्कटिङ गरी गन्तव्यमा पठाउने प्रहरीले बताएको छ । आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको, अहिलेसम्म १२ जना नेता कार्यकर्तालाई बेपत्ता पारिएको लगायत राज्यको दमनका विरुद्ध केन्द्रिय कार्यक्रम अनुसार नेपाल बन्दको आह्वान गरेको हो ।
