ओमप्रकाश गुप्ता
भालुवाङ १७ जेठ । राप्ती गाउँपालिका ९ देवीकोटाका स्थानीयवासी बिजुली पुगेपछि खुसी भएका छन् । बजार आउँदा बिजुलीबाट बत्ती, टिभी, रेडियो बजेको सुन्दा गाउँमा पनि बिजुली पुगे विकास होला भनेर आस गरेका स्थानीयहरु पोल गाडेको डेढ वर्ष पछि गाउँमा बत्ती बाल्न पाए पछि खुसी भएका हुन् । स्थानीय अहिले उज्यालोमा बस्न पाएका छन् ।
सुगम गाउँपालिकाको दुर्गम गाउँको बासिन्दा भने पनि टुकीमा रात बिताउनुपर्ने अवस्था थियो, अहिले गाउँकै मुहार फेरिए जस्तो भएको छ, स्थानीय दिनेश वलीले भने । बिजुली आए सँगै बालबालिकालाई अध्ययन गर्न, मोबाइल चार्ज गर्न पाएका छन् । सामान्य विद्युतीय कामका लागि समेत घण्टौं लगाएर मौरीघाट, पिपरी, सिसहनियाँ तथा लालमटिया बजार पुग्नु पर्ने बाध्यता हटेको दिनेशले बताए । विद्युत नहँुदा आफुहरु अझै पनि ढुंगे युगमा भएको जस्तो महसुस हुन्थ्यो तर अहिले गाउँमा विद्युत पुगे पछि विकासको अनुभुती भएको स्थानीय रविलाल वलीले बताए ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत मौरीघाट देखि उत्तर ८ किलोमिटरको दुरीमा रहेको देवीकोट गाउँ सत्यदेवीको वायाँ घुडा पतन भएको स्थानको रुपमा समेत परिचित छ । भद्राक्षीदेवी मन्दिर समेत सोही गाउँमा रहेको छ । तर मन्दिरमा बत्ती थिएन जसोतसो सोलार बत्तीले काम चल्थ्यो तर अव मन्दिरमा समेत बत्ती बल्न थालेको छ । मन्दिरका पुजारी लिलाबहादुर कार्कीले बताए । ९० घरधुरी रहेको सो गाउँमा हाल तत्कालका लागि ८ घरमा बत्ती बलेको छ अन्य घरमा पनि विद्युत विस्तारको काम भइरहेको छ । नेपाल सरकारको १ करोड ५० लाखको लागतमा विद्युत पुगेको देवीकोट धार्मिक तथा पर्यटन विकास समितिका उपाध्यक्ष चन्द्रबहादुर जिसीले बताए ।
देवीकोट दाङ जिल्लाको चुरे श्रृखलाको ऐतिहासिक स्थल पनि हो । यस ठाउँमा पुगेपछि ऐतिहासिक अध्ययनका धेरै कुरा भेटिन्छन् विश्वास रहि आएको छ । मन्दिरको पूर्वतर्फ घोरेबास भन्ने गाउँ छ भने घोरेबासमा भुरेटाकुरे राजाहरुको समयमा अड्डा अदालत, र गोश्वारा कार्यालय समेत रहेको जानकारहरु बताउछन् । मन्दिरको उत्तरतर्फ छाउनटोला भन्ने गाउँ छ । जुन समयमा सेनाको छाउनी रहेकाले अहिले बोल्ने क्रममा छाउनीबाट छाउनटोला नामकरण भएको हो भन्ने तर्क पनि रहि आएको छ । ऐतिहासिक तथ्य केही नभए पनि केही भवनका भग्नावशेषहरु भने अध्ययनको लागी देख्न सकिन्छ । देवीकोटबाट देउखुरी उपत्यकाको दृश्य अवलोकन गर्न सकिन्छ । देवीकोटको पहाडबाट उत्तरतर्फका हिमश्रृंखला, महाभारत श्रृखलाका पहाड र दक्षिणतर्फ देउखुरीको समतल भूभाग र भारतको सिमा क्षेत्रको भू–भाग समेत हेर्न सकिन्छ ।
सो क्षेत्र भित्र ऐतिहासिक, धार्मीक र साँस्कृतीक धरोहरहरु धेरै रहेका छन् । कतिपय प्राकृतिक सम्पदाको अध्ययन गर्न नै बाकी रहेको बताइएको छ । ग्रामीण पर्यटनको विकास गर्न गुरुयोजना निर्माण गर्न जरुरी रहेको स्थानीयहरुको भनाई छ । ग्रामीण पर्यटकहरुलाई खानेवस्ने सुविधा जनक होटल तथा अहिले प्रचलनमा आएको होमस्टेको विकास गर्न सके त्यस क्षेत्रको विकास र प्रचारप्रसारमा सहयोग मिल्ने बताइएको छ । यो मन्दिरमा अन्य देवीको मन्दिरमा जस्तै वडा दशैं र चैते दशैंमा बोकाको बलि दिने चलन छ । दुबै दशैंमा यहा भक्तजनहरुको ठूलो भीड लाग्ने गर्दछ । अन्य समयमा पनि यहा भक्तजनहरु पुग्ने गर्दछन् तर प्रचारप्रसार र आवश्यक भौतिक पूर्वाधारको अभावमा राम्रो संभावना रहेर पनि यो स्थान धार्मिक पर्यटकीय गन्तव्य बन्न सकेको छैन । ‘यहासम्म पुग्ने बाटो राम्रो हुने हो, बस्नका लागि होटल वा होमस्टेको व्यवस्था गर्ने हो र आवश्यक प्रचारप्रसार हुने हो भने यो यहा ठूलो संख्यामा भक्तजन (धार्मिक पर्यटक) आउने संभावना रहेको मन्दिरका पूजारी लीलबहादुर कार्की क्षेत्री बताए ।’ त्यसो त यो ठाउमा होमस्टेको राम्रो संभावना रहेको छ ।
देवीकोट मन्दिरबाट एक घण्टा पैदल हिडेपछि पश्चिममा मगर गाउँ भेटिन्छ । राप्ती गाउँपालिका ५ करङ्गेकोट गाउँमा झण्डै ८० घर मगर समुदायको बसोबास रहेको छ । यो गाउँमा मगर होमस्टे स्थापना गर्न सके यो क्षेत्रको पर्यटन विकासमा अझ ठूलो योगदान पुग्ने देखिन्छ ।
भद्राक्षीदेवी मन्दिरको संरक्षण र सम्बर्धन गर्न लालमटियाका समाजसेवीहरुले ठूलो योगदान गरिरहेका छन् । देवीकोट धार्मिक तथा पर्यटन विकास प्रतिष्ठान गठन गरेर नै उनीहरुले यो ठाउँलाई पर्यकीय गन्तव्य बनाउने पहल थालेका छन् । देवीकोटको पर्यटन विकास गर्ने हो भने गर्मी छल्न जाने पर्यटकका लागि राम्रो रोजाइ हुनसक्छ यो ठाउँ ।
समुद्री सतहबाट १ हजार ४० मिटर उचाइ रहेको यो ठाउँ चुरेको डाँडामा पर्ने भएकाले प्रायः सधै शिरशिर हावा चल्ने गर्दछ । यहाँबाट देउखुरीको फाँट र राप्ती नदी हेर्न निकै आनन्द आउछ । धान फलेको बेला देउखुरीको फाँट पहेलै देखिन्छ भने आसपासको घना जंगलको हरियाली पनि हेर्न लायक हुन्छ । उत्तरतिर हाँसीपुर, जबरकोटहुदै हिम श्रृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । भद्राक्षीदेवीको दर्शन गरे आफुले मागेका कुरा पुरा हुने जनविश्वास समेत रहि आएको छ । अव विद्युत सँगै स्वास्थ्य, यातायात,शिक्षाको विकास गर्न जरुरी छ ।