दशैंं लागेपछि मात्र नयाँ नोट साटिने, एकजनाले २७ हजारसम्म पाउनेकाठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंंका लागि नयाँ नोट साट्न खुला गर्ने भएको छ । दशैंका लागि सानादेखि ठूला दरका नोट समेत बजारमा जानेछ । बैंकले प्रतिव्यक्ति २७ हजारका दरका दरले नोट साट्ने व्यवस्था मिलाउन लागेको हो ।
बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम् २७ हजार रुपैयाँसम्म साट्ने व्यवस्था गर्ने तयारी गरेको छ । नोट साट्दा बैंकले प्रत्येक नोट थानमात्र साट्ने अर्थात खुला नसाट्ने बताएको छ ।
नयाँ साटनको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि १२/१३ गतेदेखि खुल्ने जनाएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले बताए । सर्वसाधारणको लागि भने दशैं शुरु हुने एक साता अघि वा २०/२१ गतेसम्म खुल्ने राष्ट्र बैंकले बताएको छ । बैंकले गत वर्षकै हाराहारीमा नोट साट्ने व्यवस्था मिलाएको छ
बैंकले दशैंका लक्ष्य गरी ४० अर्ब नयाँ नोट बजारमा पठाउने तयारी गरेको छ । सर्वसाधारणलाई नयाँ नोट साट्न कसरी सहज हुन्छ भन्ने विषयमा भने राष्ट्र बैंक छलफल भइरहेको छ ।
राष्ट्र बैंकले उपत्यकाभित्र र बाहिर नयाँ नोट साट्ने व्यवस्था मिलाउने छ । उपत्यकाबाहिर राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्न पाइनेछ । ‘राष्ट्र बैंकका उपत्यकाबाहिरका कार्यालय र राष्ट्र बैंक मातहत सञ्चालित नोट कोष रहेका वाणिज्य बैंकहरुले समेत सर्वसाधारणलाई नयाँ नोट साट्ने सुविधा उपलब्ध गराउने छन् ।
गएको वर्ष नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट समेत नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको थियो । गएको वर्ष नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुर कार्यालयबाट नयाँ नोट साट्ने सुुविधा दिएको थियो ।
राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा भवन, टेकु, नयाँ बानेश्वर, सानोठिमी, विशाल बजार र नक्साल शाखाबाट र कृषि विकास बैंकका गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क र मंगलबजार शाखाबाट नयाँ नोट साट्ने व्यवस्था मिलाइएको थियो । यी बैंकबाट प्रतिव्यक्ति २० हजार रुपैयाँसम्म नयाँ नोट साट्न सक्ने व्यवस्था मिलाएको थियो ।
सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न सकून् भनेर राष्ट्र बैंकको थापाथलीबाहेक अन्य तीन बैंकका शाखाबाट पनि नयाँ नोट साट्न पाउने व्यवस्था मिलाएको थियो ।
यसबाहेक संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रको आधारमा मुद्रा व्यवस्थापन विभाग थापाथलीको काउन्टरबाट नयाँ नोट सटहीको व्यवस्था मिलाइएको थियो । यसपटक पनि त्यसरी नै नोट साट्ने प्रक्रिया अघि बढ्ने छ ।
सटही सुविधालाई सहज ढंगबाट सम्पन्न गर्न प्रत्येक दरका नोटका १०० वटाको प्याकेटमात्र साटिने छ । विगतमा बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट नयाँ नोट साटेर ग्राहकलाई वितरण गरेका थिए । यसपटक पनि त्यस्तो व्यवस्था गर्ने एक बैंकरले जानकारी दिए ।
कर्णाली न्युज