हास्यव्यंग्य अभिनेता केदार घिमिरे ‘माग्ने बूढा’ विविध भूमिका निर्वाह गर्न खप्पिस छन् । अहिले चलचित्र ‘छक्का पञ्जा–३’को सहनाई बजाउने भूमिकाले चर्चामा छन्, उनी । यसमा उनलाई माग्नेकै भूमिकामा देख्न सकिन्छ । ‘माग्ने बूढा’ उपनाम’ केदारले ‘छक्का पञ्जा–३’ मा फेरि चरितार्थ गरेका छन् ।
यही भूमिकाबारे डब्बु क्षत्रीले गरेको रमाइलो वार्ता :
*केदारजी, ‘छक्का पञ्जा–३’मा फेरि माग्ने बूढा भइएछ हैन ?
हो । मलाई फेरि माग्ने बूढा बनाएका छन् । यसपटक सहनाई बजाएर माग्ने भूमिका खेलेको छु ।
निर्माता–लेखक दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले सहनाई बजाउने भूमिका किन दिएजस्तो लाग्छ ?
अनुहार नै बाजा बजाएर खानेजस्तो भएर होला, नि‘छक्का पञ्जा–३’ को दुई गीत र ट्रेलरमा सहनाई बजाएको देखेपछि दर्शकले साहैै्र सुहाएको छ भन्नुभएको छ । मलाई पनि आजकाल त्यस्तै लाग्न थालेको छ ।
‘छक्का पञ्जा–३’ खेल्नुअघि सहनाई बजाउनुभएको थियो ?
कहाँ पाएर बजाउनु ? सानो हुँदा हेटौंडामा साथी तुलबहादुरका बुबा ‘टुंगुने बा’ सहनाई बजाउनुहुन्थ्यो । त्यतिबेला पनि बजाउन मन लागेर उहाँसँग एकछिन मागेको थिएँ ।
तर, उहाँले दिनुभएन । त्यति बेलादेखि नै सहनाई बजाउन मन लागेको हो ।
चलचित्रमा सहनाई बजाएको ठ्याक्कै सुहायो भनेर प्रतिक्रिया आएको छ । कतै तपाईंलाई व्यंग्य गरेको त हैन, दर्शकले ?
दर्शकले जे देख्नुभयो, त्यही भन्नुभयो । मेरो अनुहार पनि त्यस्तै परेको छैन र ? अनि अर्को कुरा, ती टुंगुने बाले जसरी नाच्थे, जसरी कपडा लगाउँथे, जसरी बस्थे, म त्यतिबेला त्यसको नक्कल गर्थें । त्यही सम्झेर ‘छक्का पञ्जा–३’ मा पनि उहाँको हुबहु नक्कल गरें । सबैलाई सोही कारण हुबहु लागेको हो । यो जस टुंगुने बालाई पनि जान्छ ।
*चलचित्रमा सहनाई बजाउँदा अप्ठ्यारो भएन ?
किन लाग्नु र ? पहिलोपटक सहनाई बजाउँदा साह्रै गर्व लाग्यो । यो पनि एउटा पेसा हो नि † आजकाल बाहुनहरूले पनि समूह बनाएर पञ्चेबाजा बजाउन थालेका छन् ।
*किन बाहुन–क्षत्रीले पनि सहनाई फुक्न थालेका होलान् जस्तो लाग्छ ?
सहनाई नफुकी बिहेबटुलो, शुभकार्य हुँदैन । अनि सहनाई फुक्ने परियार समुदायका युवा विदेश पलायन भएका छन् । उहाँहरूलाई यही कारण तल्लो जात भनिएकाले हेपेको देखेर यस्तो बाजा बजाउन छाड्नुभएको छ । अनि बाहुन–क्षत्रीले सहनाई नफुके उनीहरूको विवाहमा कसले फुकिदिने त ?
*यो चलचित्रको बजाउनेसम्बन्धी संवाद निकै हिट छ नि याद छ ?
किन नहुनु र ? सहनाईको पिपिरी सुकेपछि. पानीको बहानामा रक्सी माग्छु । तर, ती बाजे गाली गर्दै थुक्छन् । त्यसपछि मैले यस्तो संवाद बोल्छु, ‘ओ बाजे कसलाई थुकेको ? तिमी शंख फुक्ने म सहनाई फुक्ने, एउटा फुक्ने र अर्को फुक्नेलाई यसरी किन थुक्ने ?’
*यो संवादको अर्थ त निकै गहन छ है ?
हो नि सहनाई फुक्ने पनि पेसा हो । शंख फुक्ने पनि पेसा हो । दुवै पेसा भएकाले एकले अर्कालाई सम्मान गर्नुपर्छ भनेर यस्तो संवाद राखिएको हो ।
सहनाई बजाउन कसरी सिक्नुभयो ?
चलचित्र छायांकनका क्रममा पञ्जेबाजा बजाउने वास्तविक समूह बोलाइएको थियो । चलचित्र युनिटले नयाँ सहनाई किनेर ल्याइदियो । उहाँहरूले सहनाई फुक्न सिकाउनुभयो । सुरु– सुरुमा त अलि गाह्रो भयो । त्यसपछि त राम्ररी बजाएर टुंगुने बाजस्तै नाँच्न सक्ने भएँ ।
सहनाई बजाउँदा हीनताबोध त भएन नि ?
कस्तो रमाइलो भयो । त्यो सहनाई नहराउनु भनेर मैले ‘छक्का पञ्जा–३’ प्रोडक्सनलाई भनेको छु । आफूले पहिलोपटक बजाएको त्यो सहनाई अब गर्वसाथ घरको बैठक कोठामा सजाएर राख्छु । ताकि अरूले मेरो बैठकमा जाँदा सहनाई हेरेर बजाउनेको सम्मान गरून् ।
rajdhani