निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै शैक्षिक हड्ताल

२०७५ आश्विन १५, सोमबार ०६:१९ गते २०७५ आश्विन १५, सोमबार ०६:१९ गते २०७५ आश्विन १५, सोमबार ०६:१९ गते

निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै शैक्षिक हड्तालगाेकुल जाेशी महेन्द्रनगर असोज १५

निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेविसंघले आइतबार साँझ महेन्द्रनगरमा निकालेको राँके जुलुस।
निर्मलाका हत्यारा सार्वजनिक गर्न माग गर्दै नेविसंघले आइतबार साँझ महेन्द्रनगरमा निकालेको राँके जुलुस।
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त बलात्कार र हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले जिल्लामा शैक्षिक हड्ताल आह्वान गरेको छ।

उच्च स्तरीय छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आइतबार साँझ राँके जुलुस निकालेको नेविसंघले सोमबार शैक्षिक हड्ताल घोषणा गरेको हो।

घटना भएको दुई महिनाभन्दा बढी भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेकाले बाध्य भएर आन्दोलनमा उत्रनुपरेको नेविसंघ नेता किशोरप्रसाद जोशीले बताए।

आइतबार साँझ नेपाली कांग्रेसको पार्टी कार्यालय महेन्द्रनगरबाट सुरु भएको जुलुस मदन चोक हुँदै बजार परिक्रमा गरी भानु चोकमा पुगेर सभामा परिणत भएको थियो।

सभामा बोल्दै संघका नेताहरूले निर्मलाको ‘भेजाइनल स्वाब’ नै नक्कली पठाइएको हुन सक्ने आशंका व्यक्त गरे। जुलुसमा सहभागीहरूले निर्मलाका हत्यारालाई सरकारले संरक्षण गरिरहेको आरोप लगाउँदै चर्काे नाराबाजी गरेका थिए। हत्यारा पक्राउ नपर्दासम्म आन्दोलन नरोकिने नेविसंघले जनाएको छ।

गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानबिन समितिले घटनाबारे एक महिना अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइए पनि सार्वजनिक भएको छैन।

गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी भीमदत्त नगरपालिका-२ की १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो।

बलात्कार र हत्यामा संलग्न रहेको आशंका गरिएका तत्कालीन एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए रिपोर्ट पनि निर्मलाको ‘भेजाइनल स्वाब’ सँग मेल नखाएपछि घटना अझै रहस्यमयी बनेको छ।
nepalkhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *