इन्डोनेसियामा भूकम्प तथा सुनामीः मृत्यु हुनेको संख्या ८३२, शव सामूहिक चिहानमा गाडिँदैइन्डोनेसियामा शक्तिशाली भूकम्प तथा सुनामीका कारण ज्यान गुमाउनेको संख्या कम्तिमा ८३२ पुगेको छ ।
पालु शहरमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्प तथा त्यसपछिको सुनामीका कारण ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने इन्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन निकायले जनाएको छ।
अहिलेसम्म आएका तथ्यांकहरु पालु शहर र आसपासका क्षेत्रको मात्रै रहेकाले ग्रामीण क्षेत्रको जानकारी संकलन हुन थालेपछि ज्यान गुमाउनेको संख्या बढ्न सक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपी, एएफपी र रोयटर्सले जनाएका छन् ।
भूकम्प तथा सुनामीका कारण ज्यान गुमाएकाहरुलाई सामूहिक चिहानमा गाड्न सुरु गरिएको स्थानीय अधिकारीले बताएका छन् । महामारीजन्य रोग फैलन सक्ने आशंकामा सामूहिक चिहानमा शव गाड्न थालिएको हो ।
अझै पनि धेरै मानिसहरु भत्किएका संरचनामा पुरिएको हुन सक्ने र उनीहरुलाई जीवितै उद्धार गर्न सकिने सम्भावना पनि रहेको बताइएको छ ।
तर लगातार ठूला परकम्प गएका कारण उद्धार तथा राहतमा समस्या भइरहेको छ । अस्पतालसहितका संरचनामा क्षति पुगेका कारण उपचारमा पनि समस्या भएको छ ।
deshsanchar