२३ असोज, काठमाडौं । कञ्चनपुरमा भएको निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान गर्न गठित उच्चस्तरीय समितिले तत्कालीन प्रहरी नेतृत्वले लापरबाही गरेको निष्कर्ष निकालेपछि प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।
घटनाको छानविनका लागि गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित समितिको पूर्ण प्रतिवेदनका आधारमा विष्टमाथि कारवाही प्रक्रिया थालिएको हो ।
यसअघि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को आदेशपछि पन्त हत्याको अनुसन्धान पूरा नभएसम्मका लागि भन्दै ९ भदौमा विष्टलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरिएको थियो ।
प्रतिवेदनमा तत्कालीन प्रहरी टोलीले घटनाको अनुसन्धानमा गम्भीर लापरवाही गरेको ठहर गरिएको छ । प्रारम्भिक चरणदेखि नै प्रहरी अनुसन्धानमा लापरवाही भएको निष्कर्ष निकालिएको हो ।
प्रहरी उच्च स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयमा एसपी विष्टलाई बर्खास्त गर्नेसम्मको विषयमा छलफल चलिरहेको छ ।
यसअघि ३० भदौमा अनुसन्धानमा खटिएका ५ प्रहरी अधिकारीलाई निलम्बन गर्ने बेलामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र आईजीपी सर्वेन्द्र खनालको मत बाझिएको थियो ।
त्यसबेला खनालले ‘कमजोरी देखिए बरु जागिरबाटै बर्खास्त गरौं तर अनुसन्धान अधिकारीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन’ भनेका थिए ।
online khaber