२४ आश्विन २०७५, बुधवार ;लण्डन (बेलायत) ।एजेन्सी पेय पदार्थ निर्माता कम्पनी कोका–कोला, पेप्सी र नेस्लेले विश्वमै धेरै प्लाष्टिकको फोहोर उत्पादन गर्ने गरेको एक अध्ययनले देखाएको छ । वातावरणको क्षेत्रमा काम गरिरहेको संस्था ग्रीनपीसले मङ्गलवार सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो ।
ग्रीनपीसले आफ्नो प्लाष्टिकमुक्त समाजको अवधारणाअनुसार विश्वका ४२ मुलुकमा २ सय ३९ टोली सफाइका लागि खटाएको थियो । ती टोलीले १ लाख ८७ हजार टुक्रा प्लाष्टिकको फोहोर सफा गरेको ग्रीनपीसले बताएको छ । यसमध्ये सबैभन्दा धेरै फोहोरको भाग कोका–कोलाको छ । ग्रीनपीसले सफाइ गरेको ४२ मुलुकमध्ये ४० मुलुकमा कोका–कोलाको प्लाष्टिक फोहोर पाइएको थियो ।
कोला–कोलाले ग्रीनपीसको लक्ष्यमा साथ दिँदै आगामी दिनमा उक्त लक्ष्यलाई सहयोग पुग्ने योजना अघि सारिएको बताएको छ । कम्पनी सन् २०३० सम्म सबै प्लाष्टिकको बोतल पुनः प्रयोग गर्न सकिने बनाउने तयारीमा छ । नेस्लेले पनि वातावरणको संरक्षणका लागि पुनः प्रयोगका विभिन्न योजनामा काम गरिरहेको जानकारी दिएको छ ।
एजेन्सी