दशैंको आठौं दिन, आज महाअष्टमी पर्व मनाइँदैबुधवार असोज ३१, २०७५ प्यूठान– बडादसैँको आठौँ दिन आज माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइँदै छ । आजको दिन दशैं घर र कोतलगायत देशका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।
आजका दिन देशैभरका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरुको चहलपहल हुने गर्दछ ।
प्यूठानका विभिन्न शक्तिपिठमा भक्तजनहरुको चहपहल छ । धार्मिक तथा पर्यटकीय स्थल झाँक्रिस्थानमा पनि भक्तजनहरुको घुँइलो चागेको छ ।
आज दसैँघर तथा जमराकोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा चामल, द्रव्य, जनै, सुपारी, फलफूल र नैवेद्यसहित नौ थुप्रा राखी दुर्गापूजा गर्नाका साथै फलामबाट बनाइएका हातहतियार र सवारी साधनलाई सफासुग्घर गरी बलिसहित पूजा गरिन्छ ।
पशुबली नचढाउनेहरू आजको दिन जमराकोठामा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने गर्दछन् ।