महोत्तरी –
विवाहित महिलासँग अनैतिक सम्बन्ध स्थापित गरेको आरोपमा महोत्तरीको एकडारा गाँउपालिकाका एक युवालाई ‘सामाजिक दण्ड’ दिइएको छ ।
सोमबार बिहान एकडारा गाँउपालिका –१, का ३० वर्षीय दिलीप मण्डललाई एक नवविवाहित महिलासँग अनैतिक सम्बन्ध स्थापित गरेको भन्दै स्थानीयहरुले ‘सामाजिक दण्ड’ दिएका छन ।
स्थानीयहरुले मण्डललाई आधी कपाल काटेर, जुता चप्पलको माला लगाई, निधारमा चुनको टीका लगाई गाँउ घुमाएका हुन । छिमेकीकी बुहारीलाई प्रलोभनमा पारि अनैतिक सम्बन्ध स्थापित गरेको भन्दै मण्डललाई सामाजिक रुपमा दण्डित गरिएको स्थानीयले बताएका छन् ।
वडा नं. १ का वडाध्यक्ष रैहान रेजा अन्सारीले घटना वास्तविक भएको जनाउनुभएको छ । आफू बाहिर रहेको समयमा गाँउका एक समूहले त्यो घटना घटाएको र आफू सत्यतथ्य बुझ्ने प्रयासमा रहेको वडाध्यक्ष अन्सारीले बताउनुभयो ।
घटना मानवअधिकारविपरीत रहेको गाँउपालिकाका अध्यक्ष रामछविला साहले जनाउनुभएको छ ।
आफूलाई केहीबेर अगाडि मात्र घटनाको सम्बन्धमा जानकारी भएकोले आफूले सत्यतथ्य बुझ्ने प्रयासरत रहेको गाँउपालिकाका प्रमुख साहले पत्रकारलाई बताउनुभयो ।
घटनास्थलमा पुगी प्रहरीको टोलीले अनुसन्धान सुरु गरिसकेको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
घटनामा संलग्न जो कोहीलाई कानुन अनुसार सजाय हुने प्रहरी उपरीक्षक कार्कीले जनाउनुभयो । मण्डल सम्पर्कविहीन रहेकोले प्रहरीले खोज्ने प्रयासमा रहेको प्रहरी उपरीक्षक कार्कीले जनाउनुभयो । मण्डल आफै विवाहित रहेको र उनको चार छोराछोरी रहेको बुझिएको छ । – उज्यालो