तपाइलाई अचम्म लाग्न सक्छ तर यो सत्य कि पुरुस पनि नर्सिङ्ग पेशा मा संलग्न हुन सक्छन्। पछिल्लो समय नर्सिङ पेशामा युवाहरुको रुची बढ्दो पाइएपनि अझै विश्वव्यापी रुपमा नर्सको अभाव रहेको द इकोनोमिस्टले जनाएको छ । त्यसैगरी नर्सिङमा जति चासो महिला र युवतीहरुले देखाउँछन् त्यति रुची पुरुषहरुमा देखिँदैन । कुनैपनि देशमा दर्ता भएका नर्सहरु मध्ये ५ देखि १० प्रतिशत मात्र पुरुष हुने गरेको पाइन्छ ।
वास्तवमा नर्स पेशामा यसरी थोरै पुरुषहरुले मात्र रुची राख्नुको कारण हाम्रो सामाजिक मान्यता हो । किनकी हामीले नै परम्परागत रुपमा नर्सिङलाई महिलाको कामका रुपमा हेर्ने गरेका छौँ र वर्षौँदेखि यही प्रचलनमा आएको हो । कुनै समय बेलायत लगायत अधिकांश देशका नर्सिङ कलेजमा पुरुषलाई भर्ना लिइँदैन थियो ।
तर सन् १९८२ मा अमेरिकाका केही शिक्षलयमा नर्सका लागि पुरुषहरुलाई पनि भर्ना लिइन थालियो जसपछि नै यसको सुरुवात भएको बताइन्छ । तरपनि दशकौँदेखि मिडिया लगायत फिल्महरुले समेत नर्सका रुपमा महिलालाई नै प्रस्तुत गर्दै आएको पाइन्छ जसमा मुख्य अभिनेत्री नर्सले प्रमुख भूमिका निर्वाह गरिरहेका पुरुष डाक्टरको सहायता गरिरहेको देखाइन्छ । यसरी सामाजिक चेतनाको अभावका कारण पनि यो पेशाप्रति महिलाहरुकै बढी लगाव हुने गरेको पाइएको हो ।
रियलम्यासवर्कले सन् २०१२ मा सार्वजानिक गरेको डाटा अनुसार सबैभन्दा धेरै पुरुष नर्स भएको देश साउदी अरब हो जहाँ ३६ प्रतिशत पुरुषहरु नर्सिङ पेशामा आबद्ध रहेको पाइएको थियो । साउदीको रुढीवादी समाजका कारण महिलाहरुलाई धेरै कम स्वतन्त्रता दिइने चलन हुँदा नर्सिङ पेशामा समेत महिलाको अभाव रहने गरेको पाइन्छ । त्यसैगरी इटली, बेलायत, अमेरिका अष्ट्रेलिया सहित थुप्रै मुलुकहरुमा पुरुष नर्सहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको पाइएको छ । यता चीनमा भने केबल एक प्रतिशत पुरुष मात्र नर्सिङका लागि दर्ता हुने गरेको रिपोर्टले उल्लेख गरेको थियो ।
तरपनि यो पेशामा पुरुषहरुलाई लगाउनु लामो समयसम्म चुनौतिपूर्ण नै रहने विज्ञहरुको भनाइ छ । केही समय अगाडि मात्र बेलायतमा गरिएको एक सर्वेक्षणमा, केबल ४० प्रतिशत बाबुआमाले मात्र आफ्नो छोरा नर्स पेशामा लाग्दा गर्व गर्ने देखिएको हो । यस्तोमा अहिलेसम्म पनि कतिपय सिनियर नर्सहरुलाई ‘सिस्टर’ नै भनि बोलाइने गरेको पाइन्छ ।
जसको अर्थ वास्तवमै नर्सले गर्नुपर्ने कामबारे हाम्रो सोच धेरै पुरानो छ । त्यसैले पनि यो पेशामा पुरुषले सोचेजस्तो स्थान नपाएको बताइएको छ । यस्तोमा विश्वव्यापी रुपमा एकपटक सबै यसबारे अपडेट हुन जरुरी देखिएको विश्लेषकहरु बताउँछन् । नर्सिङ एउटा व्यवसायिक पेशा हो जसमा थुप्रै विशेषज्ञताहरु हुन्छन्, जस्तै एनेस्थेटिक्स, कार्डियोलोजी वा इमर्जेन्सी सेवा । कुनैपनि बिरामी पीडामा हुँदा प्रायः नर्सहरु नै पहिला उत्तरदायी हुन्छन् । तर अहिलेको आधुनिक समयमा लिङ्ग भेदक पेशाहरु कम हुँदै गइरहेपनि नर्सप्रतिको मानिसको धारणामा भने अझै परिवर्तन आउन नसकेको देखिएको छ । -१२ खरि