काठमाडौं — आयरल्यान्डको उड्डयन प्राधिकरणले देशको दक्षिणपश्चिम तटमा चम्किलो उज्यालो र अपरिचित उडनतश्तरी (यूएफओ) देखिएको विषयमा अनुसन्धान गरिरहेको छ ।
ब्रिटिश एयरवेजकी एक पाइलटले श्यान्नन एयर ट्राफिक कन्ट्रोललाई सम्पर्क गरेपछि अनुसन्धान शुक्रवार अर्थात् नोभेम्बर ९ मा शुरू भएको हो ।
उनले उक्त क्षेत्रमा सैन्य अभ्यास भइरहेको हो कि भनी सोधिन् किनकि केही कुरा अत्यन्तै छिटो चलिरहेको थियो । एयर ट्राफिक नियन्त्रकले कुनै पनि अभ्यास नभइरहेको जानकारी दिए ।
ती विमानचालिका क्यानडाको मोन्ट्रीयलबाट हीथ्रोतिर आइरहेकी थिइन् र उनले अत्यन्तै चम्किलो प्रकाश देखेको र उक्त वस्तु विमानको देब्रे भागमा आइपुगेको र तत्कालै उत्तरतिर गएको बताइन् ।
उनले त्यो के हो भन्ने थाहा पाइनन् तर त्यो वस्तु विमानसँग ठोकिन चाहिँ आएको जस्तो देखिएन । भर्जिन विमानका अर्का पाइलटले पनि उक्त वस्तु देखेको र त्यो उल्कापिण्ड हुनसक्ने बताए । श्यान्नन विमानस्थलका एक प्रवक्ताले अनुसन्धान जारी रहेकाले केही पनि टिप्पणी गर्नु उपयुक्त नहुने बताए ।
-लोकान्तर