उपन्यासकार सुबिन भट्टराईको पहिलो उपन्यास ‘समर लभ’लाई अब पर्दामा हेर्न पाइने भएको छ ।
समर लभमाथि एक वर्षअघिबाट चलचित्र निर्माण सुरु भएको थियो । समर लभ नाममै चलचित्रको तयारी अन्तिम चरणमा पुगेको छ । यसपटकको प्रणय दिवस (भ्यालेन्टाइन डे)को अवसर पारेर आगामी २५ माघबाट यो चलचित्र हलमा ल्याइने भएको छ ।
चलचित्र समर लभको निर्माण पक्षले सोमबार फस्ट लुक्सका रूपमा पाँचवटा पोस्टर सार्वजनिक गर्दै २५ माघमा चलचित्र रिलिजको घोषणा गरेको हो । सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका मुख्य कलाकार सुरजसिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षत्रीलाई समेटिएको छ ।
‘नाई नभन्नु ल ३’ का निर्देशक मुस्कान ढकालले समर लभको निर्देशन गरेका हुन् । आशिष र रेवतीले यही चलचित्रबाट नेपाली सिनेवृत्तमा डेब्यु गरेको ढकालले बताए । आशिष मोडल हुन् भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् । उनले ‘ग्याङग्स अफ नर्थवेस्ट’,‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता चलचित्रमा अभिनय गरिसकेकी छन् ।
समर लभका पाठकले यो पुस्तक पढ्दा कल्पना गरेको दृश्य पर्दामा देख्न पाउने निर्देशक खड्काले बताए । ‘किताबले निकै चर्चा कमाएकाले चलचित्र पनि त्यस्तै मेहनत गरेर बनाएका छौं । विदेशको पनि दृश्य छायांकन गर्नु परेकाले यो चलचित्र तयार गर्न हामीलाई एक वर्ष लाग्यो,’ निर्देशक ढकालले भने ।
सुबिनको कथा, सामीप्यराज तिमल्सेनाको पटकथा, सुबिन र सामीप्यको संवाद रहेको यो चलचित्रलाई खगेन्द्र श्रेष्ठ, इन्दु भण्डारी र बिनोद अधिकारीले निर्माण गरेका हुन् । जसमा पुष्पन प्रधानको संगीत, सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ ।
-राजधानी डेली