विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ, ‘प्रत्येक वर्ष औसत १ दशमलव ४ करोड व्यक्तिमा क्यान्सर देखिन्छ ।’ यो विश्वको तथ्यांक हो । नेपालमा पनि यसको तथ्यांक भयावह छ । र, यसरी क्यान्सर हुनुमा खराब जीवनशैली, मोटोपनका साथै सुर्तीजन्य पदार्थको सेवन मूल कारण मानिएको छ ।
नेपालमा वर्षेनी ५० हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । ५० प्रतिशत मामलामा खराब जीवनशैली, मोटोपना ताथ सुर्तीजन्य पदार्थका कारण क्यान्सर हुने गर्छ । सुर्तीजन्य पदार्थ सेवनका कारण मुख तथा घाँटीको क्यान्सर हुनेगर्छ। अहिले यस्तै प्रकृतिका क्यान्सर रोगी बढिरहेका छन् ।
के हो घाँटीको क्यान्सर ?
जब शरीरको कोषिका असामान्य रुपमा फैलिन थाल्छ, तब क्यान्सर हुने गर्छ । क्यान्सर शरीरको विभिन्न अंगमा हुने गर्छ । जसमध्ये एक घाँटीको क्यान्सर पनि हो । घाँटीको क्यान्सर आवाज, भोकल कर्ड तथा मुखको विभिन्न भागमा हुने गर्छ ।
घाँटीको क्यान्सर दुई प्रकारको हुन्छ, फेरनजील क्यान्सर र लरेन्जियल क्यान्सर । फेरनजील क्यान्सर फेरनक्समा हुन्छ । फेरनक्स एक प्रकारको खाली नली हो, जसले अन्न नलीलाई नाक र मुखसित जोड्छ । जबकी लरेन्जियल क्यान्सर लेरीनक्स -स्वरग्रन्थि वा भ्वाइस वक्स)मा हुन्छ ।
कसलाई हुन्छ ?
पहिले पहिले उमेर पुगेका मानिसलाई मात्र घाँटीको क्यान्सर हुन्थ्यो । अहिले २०-२५ वर्षका मानिसहरुलाई पनि मुख तथा घाँटीको क्यान्सर हुने गरेको छ । त्यसो त ४०-५० वर्ष उमेर समूहका मानिस यसको शिकार धेरै हुने गरेका छन् । सामान्यतया मानिसहरुले मुखको समस्यालाई नजरअन्दाज गर्छन् । जसले गर्दा उनीहरुमा यो क्यान्सर खतरनाक हुने गर्छ ।
कसरी थाहा पाउने ?
घाँटीको क्यान्सरको खासै लक्षण देखिदैन । र, यो प्रारम्भिक चरणमा भएमा यसको लक्षण शारीरक निदानबाट पनि पत्ता लगाउन सकिदैन । घाँटीको टिस्यूमा हुने जलन तथा घाँटीमा गाँठो हुनु यस क्यान्सरको एक मात्र संकेत हुन्छ ।
घाँटीको क्यान्सर भएमा यसको लक्षण रुघाखोकीको भन्दा खासै फरक हुँदैन । जसको कारण व्यक्ति भ्रमित हुने गर्छन् । त्यसैले , लामो समयसम्म यस्तो लक्षण देखिएमा तुरुन्तै चिकित्सकसित सम्पर्क गर्नुपर्छ ।
किनकी, लक्षण देखिएको अवस्थामा पनि यसको लक्षण व्यक्तिपिच्छे फरक हुनसक्छ । यसको लक्षण व्यक्तिको अवस्था, रोगको चरण तथा रोगको प्रकार अनुसार पनि फरक हुने गर्छ ।
त्यसैले पनि, यी मध्य कुनै एक वा अधिक लक्षण देखिएमा तुरुन्तै चिकित्सकलाई देखाउनु पर्छ ।
-आवाज बदलिए वा भारी भएमा
-घाँटीमा खसखस भएमा
-दाँत दुखेमा वा गिजा सुन्निएमा
-घाँटीमा गाँठो महसुस हुनु
-मुखबाट खून निस्कनु
-निद्रा नलाग्नु
-थकान महसुस हुनु
-खाना चपाउन समस्या हुनु
-मुख भित्र रातो हुनु, सेतो वा गहिरो रङ्गको दाग देखिने
-सासबाट दुर्गन्ध महसुस हुने,
-कानमा अकारण दुख्ने
-कफ आउनु तथा खकारमा रगत देखिनु
-लगातार तौल कम हुनु
किन हुन्छ ?
धुमपान वा सुर्तीजन्य पदार्थको सेवन गर्नेहरुमा घाँटीको क्यान्सर हुने सम्भावना उच्च हुन्छ । धुमपानको अप्रत्यक्ष सम्पर्कमा आउनेहरुमा घाँटीको क्यान्सरको जोखिम उच्च हुन्छ ।
महिलाहरुमा पनि यसको लक्षण देखिने गर्छ । सुर्तीजन्य पर्दाथको सेवनले स्वास नलीको कार्य प्रणालीमा विपरी प्रभाव पर्दछ । जसले गर्दा क्यान्सरको खतरा उच्च हुने गर्छ ।
मदिराको साथमा धुमपान गर्नेहरुमा पनि मुखको क्यान्सरको खतरा उच्च हुने गर्छ । यसबाहेक, धुलोधुवा , प्रदुषण, काठको धुलो वा केमिकल्स डस्टका कारण पनि घाँटीको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
सल्फर डाइअक्साइड, क्रोमियम तथा आर्सेनिकले पनि घाँटीको क्यान्सरको जाखिम उच्च हुने गर्छ । पछिल्लो केही वर्षहरुमा धुमपान नगर्ने व्यक्तिहरुमा पनि मुख तथा घाँटीको क्यान्सरको लक्षण देखिएको छ ।
सुर्ती बाहेक दाँतको उचित हेरचाह नगर्नुले पनि भविष्यमा यो समस्या निम्तिन सक्छ । त्यस्तै, भिटामिन ‘ए’ को कमी पनि यसको कारण हुनसक्छ । यसबाहेक, घाँटीको क्यान्सर हुनुमा अणुवंशिक कारण पनि प्रमुख हुन्छ ।
श्रोत -अनलाइन खबर