पछिल्लो समयमा नेपाली समाजमा देखिएको ‘ह्विम्स’ नै हो यो कि बिदेशमा अलिकति ‘वेल सेटल्ड’ केटा या केटी पायो भन्दैमा आफ्नो वास्तविक प्रेमलाई छोडेर त्यो केटा या केटी सँग बिहे गर्ने चलन। म उहाँहरुलाई यो भन्न चाहन्छु- हेर्नुस् ‘वेल सेटल्ड’ सबैलाई हुन मन लाग्छ, सफोस्टिकेटेड जीवन सबैलाई बाँच्न मन लाग्छ। तर, सफोस्टिकेटेड जीवन बाँच्नु र ह्याप्पी जीवन बाँच्नु दुई फरक कुरा हो।
सफोस्टिकेटेड जीवन नै सबैथोक भएको भए एडल्फ मर्क्लेजस्ता अर्बपतिले आत्महत्या गर्थेनन् होला! लेडी गागाजस्ता सेलिब्रेटीहरु डिप्रेसममा जान्थेनन होला। गएको चार वर्ष संसारकै एकदमै धनाढ्यहरु पढ्ने अमेरिकाको सोकल्ड टप टेन मस्ट एक्स्पेन्सिभ कलेजमा पढ्ने अवसर पाएँ जहाँ मेरा प्राय: सबै साथीहरु एकदमै इन्फ्लुएन्सल र सोकल्ड ‘एरिस्टोक्रेटिक परिवार’बाट थिए। उनीहरुसँग उठ्बस गर्दा बल्ल यो थाहा पाएँ कि म नेपालको एक सामान्य परिवारमा जन्मिएर पनि कति कुराहरुमा उनीहरु भन्दा धेरै भाग्यमानी रहेछु।
यो चार बर्षमा एउटा कुरा मजाले बुझेँ कि पैसाले हामी एउटा राम्रो कुकुर किन्न सक्छौँ तर जबसम्म हामी त्यो कुकुरलाई माया गर्दैनौँ तबसम्म त्यो कुकुरले हामीलाई देखेर पुच्छर हल्लाउँदैन। एउटा राम्रो कुकुर किन्ने हैसियत राख्नु र त्यो किनेको कुकुरले पुच्छर हल्लाउनु दुई फरक कुराहरु रहेछ। हेर्नुस् यो मान्छेको मनमा माया भन्ने चिज यत्तिकै आउँदैन। हामी कोही मान्छेसँग हरेक दिन सँगै बस्न सक्छौँ र एउटा मानवका दृष्टिले त्यो मान्छेलाई सम्मान र इज्जतका साथ व्यवहारगर्न सक्छौँ तर त्यो भावनासहितको प्रेम हतपत्त जो पायो त्यहीसँग हुँदै हुँदैन, त्यो आउँदै आउँदैन।
त्यसैले अमेरिका को ग्रीन कार्ड या वित्तीय सुरक्षा हेरेर बिहे नगर्नुस्, त्यो मान्छेसँग बिहे गर्नुस् जस्लाई तपाईं चोखो माया गर्नुहुन्छ। त्यो मान्छे, जो सँग बसेर घन्टौँ केही नबोल्दा पनि सबै थोक भनिसकेझैँ महसुस हुन्छ नि, हो त्यो मान्छेसँग बिहे गर्नुस्। तपाईंलाई मन पर्ने गाना सुन्दा तपाईं जस्लाई सम्झनु हुन्छ, हो त्यो मान्छेसँग बिहे गर्नुस्। तपाईं एक्लै हुँदा जोसँग हुनु हुन्छ, एक्लै बोल्दा जोसँग बोल्नु हुन्छ, एक्लै हाँस्दा जोसँग हाँस्नु हुन्छ, हो त्यो मान्छेसँग बिहे गर्नुस्।
फेरि पनि भन्छु ग्रिन कार्ड या वित्तीय सुरक्षा हेरेर बिहे नगरनुस्, जिन्दगी एक्दमै छोटो छ। यो छोटो जिन्दगीमा हाँसीखुशी बाँच्न जरुरी छ। तपाईंहरु सबैको जिन्दगी हाँसी खुशी बितोस्, मेरो सबैलाई शुभकामना! (देश्संचार बाट र सुमेश शिवाकोटीको फेसबुकबाट।)