बुटवलमा गुञ्‍जियो नेपथ्य- ‘यानीमाया’देखि ‘चन्द्रसूर्य’सम्म

२०७५ मंसिर ११, मंगलवार १६:१२ गते २०७५ मंसिर ११, मंगलवार १६:१२ गते २०७५ मंसिर ११, मंगलवार १६:१२ गते

देशव्यापी यात्रामा निस्केको सांगीतिक ब्यान्ड नेपथ्यले ११ मंसिरमा बुटवलस्थित ‘एन्फा टेक्निकल इन्स्टिच्युट स्टेडियम’मा तेस्रो कन्सर्ट गर्‍यो।

कन्सर्टको शुरुमा गायक अमृत गुरुङले दर्शकलाई बुटवलको पुरानो परिचय सम्झाए। ‘परम्परागत बटौली बजार कुनै समय हामी कास्कीका बासिन्दाले नुनको व्यापार गर्ने बाटो थियो।’ अनि, पुरानो बटौली बजारको सम्झनामा गुञ्‍जिए-

‘यानीमाया बटौलीको बजारैमा यानीमाया
यानीमाया चुरौटाको दोकान यानीमाया
यानीमाया कति किन्नु चुरा र धागो यानीमाया’

त्यसपछि अमृतले यात्रामै आधारित नेपथ्यको अर्को गीत ‘सालैजो’ सुनाए। र, यो गीतको उत्पत्ति बुटवलकै उत्तरी भेगमा पर्ने पहाडी क्षेत्रबाट भएको जानकारी पनि उनले दिए।

“लेकैको कुहिरो अउलै झर्‍यो, आहै सालैजो, लाग्यो कुहिरो दिनभरि,” अमृतले भने, “तपाईंहरूकै मास्तिर पर्ने गुल्मीमा ट्रेकिङ गएका बेला यो गीत लेखेको थिएँ।”

बुटवलमा नेपथ्यले यसअघि पनि आफूलाई पटक-पटक प्रस्तुत गरिसकेको छ। खासगरी, द्वन्द्व र संक्रमण कालमा बारम्बार नेपथ्य बुटवलमा गुञ्‍जिएको थियो।

कार्यक्रममा ‘भेडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै नयाँ गीत ‘शिरफूल शिरैमा’ सुनाइएको थियो। ‘चरी मर्‍यो’, ‘जोमसोमे बजार’देखि ‘कोशीको पानी यो जिन्दगानी’जस्ता गीतहरूको शृंखला चल्यो।

नेपथ्यका प्रिय मानिएका ‘रेशम’ र ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्य’ सुनाउँदा दर्शकदीर्घा मन्त्रमुग्ध देखिन्थ्यो। नेपथ्यको अर्को कन्सर्ट १४ मंसिरमा कैलाली सदरमुकाम धनगढीमा हुँदैछ।

(हिमाल खबरबाट साभार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *