डिजे बाजा प्रतिबन्ध, अश्लिल गीत बजाए कार्वाही

२०७५ मंसिर १७, सोमबार १९:०४ गते २०७५ मंसिर १७, सोमबार १९:०४ गते २०७५ मंसिर १७, सोमबार १९:०४ गते

गौशाला । महोत्तरी जिल्लामा आइतबारदेखि ‘दो फूल’ नामक भारतीय कम्पनीको खाने तेल बिक्री वितरणमा र ठूलो आवाजको ‘डिजे’ बाजा बजाउन प्रतिबन्ध लगाइएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले स्वास्थ्यमा प्रतिकूल असर पार्ने देखिएको उक्त तेल र ठूलो आवाजको डिजे बाजामा आइतबारदेखि प्रतिबन्ध लगाएको हो ।

उक्त तेलका विषयमा प्रमुख जिल्ला अधिकारीसमक्ष धेरै गुनासो आएकाले तिहारअघि जिल्ला सदरमुकाम जलेश्वरको तीन वटा पसलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले तेलेका तीन वटा नमूना लिएर गुणस्तर जाँचका लागि हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयमा पठाएको थियो । क्षेत्रीय कार्यालयले उक्त तेलको बोतलमा तोरीको तेल नलेखिएको, मानव स्वास्थ्यका लागि हानिकारक, गुणस्तरहीन र अखाद्य वस्तु मिसाइएको रहेको ठहर गरेकाले सर्वपक्षीय बैठकबाटै जिल्लामा यसको उपभोग तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको प्रजिअ ढकालले बताए ।

अश्लिल गीत बजाए कार्वाही

सोही बैठकले ठूलो आवाजको डिजे बाजाले वृद्धवृद्धा, बच्चा, मुटु रोगीसहित आम मानिसको स्वास्थ्यमा प्रतिकूल असर पार्नाका साथै ध्वनि प्रदूषण गराएकाले यस्ता ठूलो आवाजको बाजा बजाउनमा पनि प्रतिबन्ध लगाएको हो ।

यस्तै उच्छृङ्खल र अश्लिल गीत बजाउन, बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म कुनै पनि बाजा बजाउन, हेलमेट नलगाई मोटरसाइकल चलाउन नपाउने निर्णय गरेको छ । मोटरसाईकलमा दुई जनाभन्दा बढी बस्न पनि प्रतिबन्ध लगाइएको थियो । बैठकमा प्रशासन, सुरक्षा निकाय, राजनीतिकर्मी, उद्योग वाणिज्य सङ्घ, नागरिक समाज, पत्रकारसहितको सहभागिता थियो ।

-राजधानी डेली

Leave a Reply

Your email address will not be published. Required fields are marked *