जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन् । गर्मी समयमा देखिएका समस्या जाडोमा पनि दोहोरिन सक्छ । कतिपयले जाडोमा छालाको खासै वास्ता गरेको पाइँदैन तर त्यस्तो गर्नुहुँदैन । हामीले छालामा आउने समस्याहरुलाई वास्ता नगर्दा छालाजन्य विभिन्न दीर्घकालिन रोगहरु आउँन सक्छन् । जाडोमा हाम्रो छाला सुख्खा हुने हुन्छ । जसले चिलाउने, मसिना, फोका आउने समस्या आउँछ ।
त्यस्तो समस्या छालामा आउँन नदिन आफ्नो छालालाई सुहाउँने मोस्चराइजर र तेलहरु लगाउनुपर्छ । घाम बाहिर निस्कनुभन्दा अगाडि अनुहारमा राम्रोसँग सनबल्क क्रिमहरु लगाउनु पर्छ । धेरै तातो पानीले मुख धुने र नुहाउन हुँदैन । जाडोमा पानी कम खाने गरेको पाइन्छ । तर त्यस्तो गर्नुहुँदैन । पानी हाम्रो शरीरमा अति आवश्यक हुन्छ, पानीजन्य फलफुल र सागसब्जी प्रशस्त मात्रामा खानुपर्छ । झोलिलो खाने कुरा पनि त्यतिनै मात्रामा खाने गनुपर्छ ।
जाडोमा साबुनको प्रयोग कम गनुपर्छ । साबुनको बढी प्रयोगले छाला सुख्खा हुनुका साथै चिलाउने, लुतो र दादजस्ता समस्या आउने हुन्छ । यो समस्या विशेष गरेर जाडो महिनामा बढी देखिन्छ । अन्य समयभन्दा जाडो महिनामा कम नुहाउने र लामो समसम्म एउटै कपडा लगाउँदा लुतो आउने हुन्छ । जाडो महिनामा बढी लुतो र चिलाउने समस्या लिएर बिरामीहरु अस्पतालमा आउने गरेका छन् । यस्तो समस्या बढी बालबालिका र बृद्धबृद्धाहरुमा देखिन सक्छ । बालबालिकाहरुलाई लामो समयसम्म एउटै कपडा लगाउनु हुँदैन । समय समयमा उनीहरुको कपडा फेरिदिनुपर्छ ।
हामीले ऊनका कपडा लगाउनुभन्दा अगाडि छालामा शुद्ध तोरीको तेलहरु, मोस्चराइजर वा कुनै नरम कपडा लगाएर मात्र ऊनका कपडा लगाउनुपर्छ ।
जाडोमा आउने अर्को समस्या छालामा सेतो–सेतो थेग्ला जसलाई उईन्टर एक्जिमा भनिन्छ । जसमा छालामा सेतो थेग्ला आउने हुन्छ । जाडोमा आउने चिलिब्लेन्सले हाम्रो शरीरका हातखुट्टा औंला नाक र कानको टुप्पाको भाग रातो हुने चिलाउने समस्या बढी देखिन्छ । यस्तो समस्याबाट चिसो हावा र पानीले हुन्छ । चिसोमा जानुभन्दा अगाडि राम्रोसँग हातखुट्टा, नाक र कान छोपेर हिड्नुपर्छ ।
जाडोमा देखिने रोगमा सोयासिस जसलाई कत्ले रोग भनिन्छ । जुन यो मौषममा बढी देखिने हुन्छ । यस्ता समस्या आउन नदिन छालालाई चिल्लो बनाइराख्नुपर्छ । जाडोमा टाउकोमा चाँया आउने समस्या बढी देखिन्छ । टाउको धेरै सुख्खा पनि राख्नुहुँदैन ।
जाडो महिनामा भिटामिन डी कमी हुन्छ । त्यो घामबाट नै पाइन्छ । सनब्लक क्रिम र शरीर ढाक्ने कपडा लगाएर मात्र घाम ताप्ने गर्नुपर्छ । लामो समयसम्म भन्ने घाममा बस्नु पनि हुँदैन । लामो समयसम्म घाममा बसेमा घामबाट बल्झिने रोग जस्तै ‘पोलिमर्फिक लाइट इरप्सन’ हुने सम्भावना हुन्छ । अर्को समस्या अनुहारमा चाया पोतो पनि आउन सक्छ । जुन घामको किरणबाट छालामा हुने समस्या हो । चिलाउने, घाउ खटिरा आउने समस्या छाला सुख्खा हुँदा हुन्छ । त्यसलाई सरसफाई र सुख्खापना रोक्ने मोस्चराइजर र तेलहरु लगाउनुपर्छ । तर त्यति गर्दा पनि छालामा आएका समस्या रोकिएन भन्ने तुरुन्त उपचारका लागि अस्पताल जानुपर्छ । -१२ खरी