काठमाडौं — अमेरिकी राष्ट्रपतिहरूले विभिन्न किसिमका सम्मान पाइरहेका हुन्छन् तर डोनल्ड ट्रम्पले पाएको पछिल्लो सम्मान पचाउन सक्दैनन् जस्तो देखिन्छ । हालै पत्ता लागेको एक उभयचरले आफ्नो टाउको बालुवामा लुकाउने गरेको छ । अनि राष्ट्रपति ट्रम्पले जलवायु परिवर्तनका विषयमा गरेको टिप्पणी यसैगरी बालुवामा टाउको लुकाएको जस्तो मानिएको छ ।
पनामामा पत्ता लागेको डर्मोफिस डोनल्डट्रम्पीलाई उक्त नाम एक कम्पनीका प्रमुखले राखेका हुन् । नाम राख्न गरिएको लिलामीमा उनले १९ हजार ८०० युरो तिरेर उक्त सुविधा पाएका हुन् । जलवायु परिवर्तनका विषयमा जागरुकता फैलाउन चाहेको कम्पनीले जनाएको छ ।
‘डर्मोफिस डोनल्डट्रम्पी जलवायु परिवर्तनको प्रभावका विषयमा शंका गर्छ र यो ट्रम्पका जलवायु नीतिका कारण लोप हुने अवस्थामा पुगेको छ,’ इन्भाइरोबिल्ड सहसंस्थापक आइडान बेलले एक वक्तव्य जारी गर्दै बताए । यो सानो अन्धो प्राणी प्रायः भुइँमुनि बस्छ र यसको व्यवहार ट्रम्पको जस्तै भएको बेलले बताए ।
‘मानवका कारण भएको जलवायु परिवर्तनका विषयमा वैज्ञानिकहरूको सर्वसम्मति रहेको भए पनि ट्रम्प टाउको लुकाइबस्छन्,’ उनले लेखे ।
संसारका अग्रणी वैज्ञानिकहरूले जलवायु परिवर्तन प्राथमिक रूपमा मानिसका कारण भएको विषयमा सहमति जनाएका छन् । तर ट्रम्प प्रशासनले तेलमा आधारित एजेन्डालाई अघि बढाउँदै वैज्ञानिकहरूसँग राजनीतिक एजेन्डा भएको बताएका छन् । अनि पृथ्वीको तापक्रम बढ्नुुमा मानिसहरू जिम्मेवार रहेको विषयमा पनि उनले शंका व्यक्त गरेका छन् ।-लोकान्तर