काठमाडौँ — काठ कारोबार गर्ने नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघ (फेनफिट) ले एक अर्ब घूसको अफर गर्ने व्यवसायीको नाम सार्वजनिक गर्न वनमन्त्री प्रेमबहादुर आलेलाई चुनौती दिएको छ ।
“वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न लेनदेनको कुरा भएको भए निजको नाम सार्वजनिक गर्न अनुरोध गर्दछौं,” फेनफिटका अध्यक्ष श्याम ढकाल र महासचिव अनिल रन्जितले बुधबार विज्ञप्तिमा भनेका छन्, “त्यस्तो गर्नेलाई नियमअनुसार कडा कारबाही गर्न पनि जोडदार माग गर्दछौं ।
मन्त्री आलेले सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन) को आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज नगर्न काठ व्यवसायीहरुबाट एक अर्ब रुपैयाँ अफर आएको दाबी गरेका थिए । सरकारले वैज्ञानिक वनका नाममा अत्याधिक रुख कटानी भएको भन्दै माघ ११ गते २०७१ देखि लागू भएको उक्त कार्यक्रम खारेज गरेको थियो ।
आचारसंहिता र महासंघको उद्देश्य विपरित हुने गलत लेनदेनको घोर भर्त्सना गर्दै फेनफिटले अफवाहका पछि नलाग्न सर्वसाधारण र व्यवसायीहरुलाई आग्रहसमेत गरेको छ ।
वन संरक्षण, व्यवस्थापन र उत्पादन गर्दै देशमा वन पैदावारको आपूर्ति व्यवस्था नियमित, सहज र सर्वसुलभ रुपमा सञ्चालन हुनुपर्छ भन्ने आफूहरुको धारणा रहेको समेत महासंघले प्रष्ट्याएको छ ।