राजनीतिक नेतृत्व इमान्दार नहुँदा यस्तो विकृति आयो – अध्यक्ष भरत गिरी

२०७७ चैत्र ६, शुक्रबार १६:५२ गते २०७७ चैत्र ६, शुक्रबार १६:५२ गते २०७७ चैत्र ६, शुक्रबार १६:५२ गते

काठमाडौं । आमूल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरीले राजनीति गर्ने नेता र मन्त्रीहरुमा डर नभएकाले अपराध र भ्रष्टाचार बढ्दै गरेको आरोप लगाएका छन् ।पार्टीद्धारा ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गिरीले आफूहरुलाई राजनीतिक अपराध गर्न डर हुने र कसैले थाहा पाए बेइज्जत हुने पनि बताए । ‘मुख्य कुरा राजनीतिक इमान्दारिता हो त्यो नै नभएपछि जसले जे गरे पनि भएको छ’ उनले भने ‘सरकार भ्रष्टाचार र अनियमिततामा लागेको छ, कमसेकम थोरै भए पनि ईश्वरको डर भइदिएको भए यो अवस्था आउने थिएन ।’ गिरीले अँध्यारो कुनामा बसेर गरेको अपराध पनि ईश्वरले हेरिरहने हुनाले त्यसको प्रतिफल उनीहरुले कुनै न कुनै दिन भोग्ने स्पष्ट पारेका छन् ।

हालैमात्र पश्चिम नेपालको भ्रमणमा पार्टीको नेतृत्व पुगेको बताउँदै थपे ‘हामी पार्टी विस्तारको क्रममा विभिन्न जिल्लामा गयौं, जहाँ पुग्यौं ठूलो उत्साह पाएका छौं, यसबाट आगामी दिनमा हामी बलियो र राजनीतिक निर्णायक शक्ति हुन्छौं भन्ने लागेको छ ।’ उनले कम्युनिष्टले जनतालाई ढाँटेर गत निर्वाचनमा मत ल्याएको र त्यो मतको सम्मान गर्न नसक्दा पतनको दिशामा गएको पनि आरोप लगाए । पटकपटक निर्वाचनमा गए पनि जनताले थोरै मत दिएको उनले स्विकारेका छन् । ‘हामी हिजो भर्खरैमात्र राजनीतिमा आएका थियौं, आफ्ना सबै एजेण्डा जनतालाई बुझाउन सकेनौं र मत थोरै आयो’ अध्यक्ष गिरीले थपे ‘अब भनें हामी बलियो भएका छौं, सबैजसो नागरिकले हामीले उठाएका एजेण्डा अहिले आएर बुझेका छन्, देश बचाउनका लागि हाम्रो खाँचो छ ।’ उनले आफूहरुले भनेको नमान्दा सरकारको यो हालत भएको बताएका छन् ।

अध्यक्ष गिरीले कम्युनिष्ट पार्टीको झगडाले देश नै संकटमा परेको उल्लेख गरेका छन् । उनले आगामी दिनमा झुक्किएर पनि नेकपा नामका पार्टीलाई मतदान नगर्नसमेत आग्रह गरेका छन् । पार्टीले सरकारसँग शिक्षा र स्वास्थ्य निःशुल्क गर्न माग गरेको छ । वृद्धावस्थामा राज्यले प्रत्येक नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था गर्नुपर्ने पार्टीको माग छ । अध्यक्ष गिरीले यी तीनवटा कुरामा सरकारले ध्यान दिने हो भने भ्रष्टाचार र अनियमितता आफैं रोकिनेसमेत बताएका छन् । पत्रकार सम्मेलनमा उपाध्यक्ष सुशीला बेघा, उपसचिव तुलसीप्रसाद श्रेष्ठ, प्रवक्ता जेपी बज्राचार्य, विदेश विभाग प्रमुख ईश्वर श्रेष्ठ, कोषाध्यक्ष अष्टमाया लमिनीलगायतको उपस्थिति रहेको थियो । उपसचिव श्रेष्ठले आगामी दिनमा पार्टीले सबै जिल्लामा पार्टी विस्तार गर्ने योजना रहेको बताए । उनले पछिल्लो समयमा पार्टीप्रति जनताको समर्थन बढ्दै गएकोले आफूहरु उत्साहित भएको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *