काठमाडौं, २३ चैत : सरकारले आउँदो जेठ र असारमा कोभिड-१९ संक्रमणको दर उच्च विन्दुमा पुग्न सक्ने भन्दै स्वास्थ्य मापदण्डलाई पालना गर्न सबैलाई आग्रह गरेको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न आग्रह गरेका हुन् ।पछिल्लो समय कोभिड संक्रमितहरू बढ्दै गएको र छिमेकी देश भारतमा पनि बढ्दो दरमा रहेकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना नगरे जेठ, असारमा फेरि उच्च दरमा पुग्न सक्ने बताए । उनले भने, ‘कात्तिक पछाडिका दिनहरूमा संक्रमण क्रमशः घट्दै गएर माघको पहिलो साता देखि निकै कम भइ सकेकोमा फेरि संक्रमण बढ्दै गइरहेको छ ।’
‘अबका दिनमा स्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ, असारमा अर्को उच्च विन्दुमा पुग्न सक्ने देखिन्छ । छिमेकी देश भारतमा फागुन १७ गते संक्रमितको संख्या ११ हजार पाँच सय ६३ बाट बढेर चैत २२ गते ९२ हजार नौ सय पुगेको स्थितिले हामीलाई थप सर्तक र सचेत बनाएको छ ।’कोभिड नियन्त्रणका लागि आवागमनलाई थप व्यवस्थित गर्दै रोगको शीघ्र पहिचान, आइसोलेशन र शङ्कास्पद व्यक्तिलाई अनिवार्य क्वरेण्टीन र जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न सकेमा महामारीलाई नियन्त्रणमा राख्नुका साथै समयका हिसाबले पर धकेल्न सकिने हुँदा यसतर्फ सबैको ध्यान जरुरी छ ।’उनले महामारी नियन्त्रणका लागि सरकारले समयमै आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गरेको स्पष्ट पारे । मन्त्री त्रिपाठीले गएको पुस २० गते नै कोभिड-१९ खोप प्राप्ति र कार्यान्वयनका लागि सरकारले सबै आवश्यक निर्णयहरू गरेको बताए । खोपको आपत्कालीन प्रयोगको अनुमति प्राप्त गरी आवश्यक कानुनी व्यवस्था गर्न औषधि तेस्रो संशोधन अध्यादेश २०७७ जारी गरिएको उनले स्पष्ट पारे । तर अध्यादेश संसद्को पहिलो बैठकमा पेस हुन नसकेको तर्फ उनले चिन्ता व्यक्त गरे ।
मन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार चैत २२ गतेसम्म २२ लाख ८५ हजारभन्दा बढीको नमुना परीक्षण गरिएको छ । दुई लाख ७७ हजार बढी संक्रमितको पहिचान र उपचार गरिएको छ । पहिचान भएका संक्रमित मध्ये ९८ प्रतिशत निको भइसकेका छन् । तीन हजार ३२ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । नेपालमा कोभिडका कारण ज्यान गुमाउनेको दर १ दशमलव १ प्रतिशत रहेको छ । गएको कात्तिकमा संक्रमणको दर उच्च रहेको थियो । पछिल्लो परिणामले बिस्तारै पोजेटिभका घटना बढ्दै गएको मन्त्री त्रिपाठीले सङ्केत गरेको बताए ।सरकारले महामारी रोकथामका लागि वैज्ञानिक यथार्थपरक नीतिहरू तर्जुमा गरी बहुक्षेत्रीय सहयोग र समन्वय गर्दै आएको पनि उनले स्पष्ट पारे । नेपाल सरकारको नेतृत्वमा प्रदेश सरकार र सबै पालिका सरकारहरूको समन्वय, सहयोग तथा सहकार्यले गर्दा कोभिडका कारण ज्यान गुमाउने तथा संक्रमण हुनेको दरलाई कम गर्न सकिएको बताए ।उनले कोभिड-१९ शताब्दीकै प्रमुख चुनौतीको रूपमा रहेको र त्यसले मानव स्वास्थ्यसँगै अर्थतन्त्रमा गम्भीर प्रभाव पारेको उल्लेख गरे । मन्त्री त्रिपाठीले देशभरका प्रयोगशालाको स्थिति, कोभिड उपचारका लागि भएका व्यवस्था, क्वरेण्टीनलगायत बारे पनि विस्तृत जानकारी गराएका थिए । उनले कठिन समयमा पनि सरकारले औषधि औजार अभाव हुन नदिएको भन्दै त्यस कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए ।
खोपको दोस्रो डोज भण्डारणमा छ, असारभित्र ६० लाखलाई खोप लगाउने तयारी:स्वास्थ्य मन्त्री त्रिपाठीले असारभित्र ६० लाख मानिसलाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्रयासरत रहेको बताए । उनले पहिलो खोप लगाएकाहरूको दोस्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागी विश्वस्त हुन आग्रह गरे ।उनले भने, ‘चैत २२ गतेसम्मको तथ्याङ्क हेर्दा जम्मा १८ लाख ६ हजार सात सय ८१ जनाले कोभिड-१९ विरुद्धको प्राप्त गरिसकेका छन् । पहिलो चरणमा पहिलो मात्रा प्राप्त गरिसकेका व्यक्तिहरूलाई २०७८ वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा प्राप्त गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा लगाएकाहरूको खोप सुरक्षित छ, त्यो लगाइएको छैन, भण्डारणमा छ । अन्यथा प्रचार प्रसारमा पर्नु जरुरी छैन ।’कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत अहिलेसम्म पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको पनि उनले जानकारी दिए । पीसीआर, किट, गाउन, औषधि, उपकरण व्यवस्थापन, खोप खरिद, अभियान, स्वास्थ्यकर्मीको जोखिम भत्तालगायत विभिन्न विषयअन्तर्गतको खर्च यसमा समेटिएको छ । मन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार दुई अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । कोभिड नियन्त्रणका लागि भएका खर्चबारे श्वेत पत्र जारी गर्न आफू र मन्त्रालय तयार रहेको पनि उनले बताए । एजेन्सी।