चैत २४ को सम्झना गर्दै वामनेताहरुले गम्भीर समिक्षा सहित नयाँ ढंगले बहश बढाउनमा जोड

२०७७ चैत्र २५, बुधबार २०:१८ गते २०७७ चैत्र २५, बुधबार २०:१८ गते २०७७ चैत्र २५, बुधबार २०:१८ गते

चन्दा थापा चन्दिका। २५ चैत, काठमाडौं । पहिलो जनआन्दोलनको ३१ वर्षमा सन्तोषजनक उपलब्धि हासिल हुन नसके पनि चैत २४ को सम्झना गर्दै वामनेताहरुले गम्भीर समिक्षा सहित नयाँ ढंगले बहश बढाउनमा जोड दिएका छन ।पुष्पलाल अध्ययन समाज नेपालद्धारा आयोजित ‘पहिलो जनआन्दोलनको उत्कर्षः चैत्र २४, ३१ औं जनआन्दोलन दिवस २०७७ ’ नामक कार्यक्रममा बोलेका वामपन्थी नेता तथा प्रजातान्त्रिक वुद्धिजीवीहरुले उपलब्धि सन्तोषजनक नभएपनि निराशा हुन नहुने धारणा व्यक्त गरेका छन् ।

पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिका कारण नेपालमा पंचायत ढलेको र गणतन्त्र स्थापनाको आधार बनेको भन्दै समाजका अध्यक्ष लोककृष्ण भट्टराईले अध्यक्षता गरेको सो कार्यक्रममा तत्कालीन संयुक्त वाममोर्चा नेपालको आन्दोलन परिचालन समितिका सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले केही उपलब्धि हासिल भएपनि त्यसलाई संस्थागत गर्न नसकिएको स्वीकारेका थिए ।तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिमा एमसीसी विरुद्ध एक्लै नोट अफ डिसेन्ट लेखेका नेता पोखरेलले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका पाटाहरु उस्तै रहेको बताउँदै एमसीसीमा लुकेको गम्भीर राष्ट्रघातका बारेमा भनाई राखेका थिए ।

राजनीतिलाइ पेशा बनाएर बिकृति थोपरीएको अवस्थामा मुलुकको राजनीतिमा म्याक्रो माइक्रो म्यानेजमेन्ट गर्न खोजिएको तथा लोकतन्त्र र राष्ट्रियता दुवै धरापमा परेको बताउँदै आन्दोलनकारी सबैले समिक्षा गर्नुपर्नेमा उनले जोड दिएका थिए ।कार्यक्रममा अतिथि वक्ता रहेका नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले अहिले नेपालको राजनीति संकटमा फसेको, मुलुकको अस्तित्व र स्वतन्त्रता खतरामा परेको वेला जनगणतन्त्रको कुरो सान्दर्भिक नहुने भन्दै उनले बाह्य हस्तक्षेप रोकेर स्वाधीनता सुदृढ गराउनुपर्ने धारणा राखेका थिए ।सो कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तथा जनआन्दोलनका अगुवा टंक कार्कीले पुष्पलालको संयुक्त जनआन्दोलनको नीतिलाई व्याख्या गर्दै नेपाली कम्युनिष्ट आन्दोलनमा विभाजनका प्रयासहरुबारे अनुभुति राखेका थिए ।

राजनीतिमा शक्ति आउँदासाथ व्यक्तिवादी भै हाल्ने प्रवृत्ति बहुदलिय संस्कृति अनुरुप नभएको भन्दै उनले प्रणाली परिवर्तन भन्दा पनि मानसिकता परिवर्तनमा जोड दिएका थिए ।कार्यक्रमका अर्का अतिथि प्राध्यापक कपिल श्रेष्ठले नेपालको ३१ वर्षे पछिल्लो अनुभवलाई उदाहरण दिने गरी विश्वचर्चित पुस्तकहरु र लेखकहरुको प्रसंग निकालेका थिए । उनले २००७ देखि २०१७ सालसम्मको इतिहास हेर्दा वामपन्थीसँग मिलेर लड्ने कांग्रेसको कुनै डकुमेन्ट नरहेको स्विकारेका थिए ।त्यस्तै अर्का अतिथि वक्ता रहेका नेकपा मसालका प्रतिनिधि समिर सिंहले दलहरु पुरानो ढर्राबाट चलेका कारण आन्दोलनको उपलब्धि पनि संरक्षण हुन नसकेको र प्रष्ट मार्गचित्र पनि तय हुन नसकेको बताउँदै विचार, सिद्धान्त र प्रयोगकै सिर्जनामा ध्यान दिनुपर्ने कुरा बताए । विदेशी प्रभाव र हस्तक्षेपबाट मुक्त हुने गरी स्वाधीनता सहितको आन्दोलन अवको आवस्यकता रहेकामा उनको जोड थियो ।

नेकपा माओवादी केन्द्रका नेता राजन तिमिल्सिनाले यथास्थितिवाट नयाँ चिज प्राप्त नहुने बताउँदै नयाँ फड्कोका लागि वैचारिक, राजनैतिक र सांगठानिक तयारी हुनुपर्नेमा जोड दिएका थिए ।कार्यक्रमका अर्का वक्ता लेखक तथा स्तम्भकार नरेन्द्रजंग पिटरले लालझण्डा बोक्दैमा लाल नभएको बरु लालदास बढाइएको भन्दै आन्दोलनको गहन समिक्षा हुनुपर्ने धारणा राखेका थिए ।कार्यक्रमको विषयवस्तुमाथि बोल्दै समाजका उपाध्यक्ष नारायण शर्माले चैत २४ को ऐतिहासिक दिन, जनआकाक्षा माथिको गम्भीर घात र अब तेस्रो जनआन्दोलनको टड्कारो भएकोप्रति ध्यानाकर्षण गराएका थिए ।यसैगरी समाजका उपाध्यक्ष तथा बरीष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले राजनीतिलाइ ब्यक्तिवादी र स्वार्थकेन्द्रित बनाइएको स्थितीमा जनआन्दोलनको संस्मरणले दल र नेताहरुको रुपान्तरण मागिरहेको धारणा राखेका थिए ।

त्यस्तै अर्का वक्ता मोहन बहादुर केसीले ट्रेड युनियनको माध्यमबाट २०४६ को जनआन्दोलनमा पुगेको योगदानका बारेमा चर्चा गर्दै राजनैतिक दलहरुमा भित्रिएको विकृति र भ्रष्टताका विरुद्ध नयाँ ढंगले अघि बढ्नुपर्ने बताएका थिए ।साथै वाम वुद्धिजीवी भरत गौतमले कुनै पनि व्यवस्था निर्विकल्प नहुने बताउँदै अबको रणनीति जनगणतन्त्र र कार्यनीति जनपक्षीय गणतन्त्र हुनुपर्नेमा जोड दिएका थिए ।समाजकी सदस्य किरण मोक्तानले समाजको एक कार्यभारका रुपमा आन्दोलनको स्मरण गरिएको बताएकी थिइन् भने सचिव निलकण्ठ तिवारीले राजनीतिमा नैतिकता नरहेको, प्राय सबै दलहरुमा विधि, नीति र पद्धति मर्ने गरेको तथा न्याय र सत्य अन्वेषण लफ्फाजी भएका कारण जनआन्दोलनका उपलब्धि धरापमा परेको बताएका थिए ।सो कार्यक्रममा सहभागीहरुप्रति धन्यवाद व्यक्त गर्दै नेकपा (क्रान्तिकारी माओवादी) का नेता हस्त बहादुर केसीले गम्भीर समिक्षा सहित नयाँ ढंगले बहश बढाउनुपर्ने निष्कर्ष राखेका थिए ।

राजधानीको बालुवाटारस्थित नेपाल हाउसमा आयोजना गरिएको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता पर्शुराम तामाङ, प्रगतिशील लेखक संघका निवर्तमान अध्यक्ष मातृका पोखरेल, पुष्पलाल अध्ययन समाजका वरिष्ठ उपाध्यक्ष राम बहादुर भण्डारी, महासचिव शुरेस कार्की, सल्लाहकार रविन्द्र कर्माचार्य, वरिष्ठ पत्रकार, निमकान्त पाण्डे, वामपन्थी अभियन्ता गणेश सिंखडा, समाजका उपमहासचिव मुकुन्द आचार्य, हरिहर खरेल, कोषाध्यक्ष श्री हरि श्रेष्ठ, सदस्यहरु सावित्री भट्टराई, चन्दा थापा, राजु भट्ट, वाम वुद्धिजीवी राजकुमार श्रेष्ठ, प्रा.डा खेम कोइराला बन्धु, राजेन्द्र देशभक्त, हरिहर कार्की, विष्णु बहादुर सिंह, रामकुमार केसी, मित्र शर्मा पौडेल, याम प्रसाद भट्टराई, किशान लिम्बु, सीता खाति, देविप्रसाद आचार्य, डम्बर विक्रम कार्की, वाम अभियन्ता रेशम न्यौपाने, वामदेव खड्का, नाम्गेल मोक्तान, धनजित तामाङ, विजय मगर लगायत ६५ जनाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *