काठमाडौँ, ५ वैशाख । नेपाल पत्रकार महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष रमेश विष्ट सम्मानित हुनुभएको छ ।नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं ५ (क) समितिद्धारा शुक्रबार वालुवाटारमा आयोजित एक कार्यक्रमका बीच नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले विष्टलाई सम्मान गर्नुभएको हो ।कार्यक्रममा सहमहामन्त्री डा महतले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि नेपाल पत्रकार महासंघको भूमिका महत्वपूर्ण रहने भएकाले नवनिर्वाचित कार्यसमितिले यसमा चनाखो रहन आग्रह गर्नुभयो ।
सहमहामन्त्री डा महतले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै परिस्थिती अनुरुप सरकारको नेतृत्व लिन काँग्रेस तयार रहेपनि सरकारकै लागि मरिहत्ते नगर्ने स्पष्ट पार्नुभयो ।काँग्रेस काठमाडौँ क्षेत्र नं ५ (क)का संयोजक भैरव सापकोटाको सभापतित्वमा आयोजित नयाँ बर्ष शुभकामना,कार्यकर्ता भेटघाट तथा सम्मान कार्यक्रममा नेपाली काँग्रेस काठमाडौँ वडा नं ४ ईकाई सभापति रामप्रसाद न्यौपाने नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्व अध्यक्ष प्रदीप चापागाईँ, महिला नेत्री प्रतिमा पौडेल,लगायत वरिष्ठ उपाध्यक्ष विष्टलाई सफलताको शुभकामना दिनुभएको थियो ।उहाँहरुले पत्रकारको स्वतन्त्रता आम नागरिकको स्वतन्त्रतासँग जोडिएकाले सोही आफ्नो भूमिका निर्वाह गर्न नवनिर्वाचित वरिष्ठ उपाध्यक्षलाई आग्रह गर्नुभएको थियो । नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विष्ट सोही स्थानका बासिन्दा हुन् ।