विराटनगर — प्रदेश १ का सीमा नाकामासुरक्षाकर्मीले नै रकम लिएर भारतबाट नेपालतर्फ मानिस भित्र्याउने गरेको पनि पाइएको छ ।
विराटनगर १५ दरैहयास्थित दशगजा क्षेत्रबाट भारततर्फ आउन जानका लागि एक सुरक्षाकर्मीले प्रतिव्यक्ति ५० देखि एक सय रुपैयाँ लिएर सीमावारि ल्याइदिने गरेको प्रत्यक्षदर्शीले बताए ।
यसअघिको लकडाउनको समयमा भारतीयलाई नेपाल प्रवेश गराउन एजेन्ट परिचालन गरेर सीमामा खटिएका सुरक्षाकर्मीले अवैध रूपमा रकम असुली गरेपछि कारबाही गरिएको थियो । अनियन्त्रित रूपमा भारतबाट नेपाल भित्र्याउन रकम असुलेको आरोपमा एक प्रहरी हवल्दारलाई जिल्ला तानेर कारबाही गरेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । यस्तो कार्य गर्ने जोसुकैलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।
सशस्त्र प्रहरी नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलले प्रदेश सरकारले तोकेको नाकाबाहेकको ठाउँबाट भारत आउन–जान पूर्ण रूपमा रोक लगाउन जनशक्ति परिचालन गरिएको बताए । ‘सरकारले अहिले सीमा सिल गर्ने निर्णय नगरेकाले तोकिएको नाकाबाट स्वास्थ्य जाँच गराएर मात्रै नेपाल प्रवेश गर्ने गरी सीमा क्षेत्रमा कडाइ गर्न थालेका छौं,’ उनले भने, ‘खुला सीमा भएकाले सुरक्षाकर्मी एक्लैले अनियन्त्रित आवागमन नियन्त्रण गर्न नसक्ने भएकाले स्थानीय राजनीतिक दल, नागरिक समाज, युवा क्लबहरूसँग सहकार्य गरेर स्वयं सेवक परिचालन गर्न बोर्डर आउट पोस्टलाई निर्देशन दिएको छु ।’
उनले बीओपीको प्रमुख सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा स्थानीय राजनीतिक दल, नागरिक समाज, युवाहरूसँग सहकार्य गरेर सीमा निगरानी समिति गठन गर्न निर्देशन दिएको बताए । सशस्त्र प्रहरी प्रदेश १ बराह वाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले सरकारले तोकेको नाकाबाहेकको ठाउँबाट कसैलाई आवतजावत गर्न नदिन निर्देशन दिएको बताए । ‘सीमामा अनियन्त्रित अवागमन रोक्नका लागि भारतीय एसएसबीसँगसमेत समन्वय गरेर कडाइ गरिरहेका छौं,’ उनले भने, ‘सीमामा पोस्टहरू थपेर अनियन्त्रित आवागमन पूर्ण रूपमा रोक्ने कार्य योजनासाथ अघि बढेका छौं ।’
प्रदेश १ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक ईश्वरबाबु कार्कीले सीमा नाका कडाइ र सार्वजनिक यातायातको सवारी साधनमा सरकारले तोकेको मापदण्ड कार्यान्वयनको काम भइरहेको बताए । उनले सरकारले लकडाउन गर्नेलगायतका अधिकार अहिले स्थानीय प्रशासनलाई दिएकाले प्रदेशभरिका मातहतका एकाइलाई समन्वय गरेर कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि खटिन निर्देशन दिएको बताए । सुरक्षाकर्मीले सीमामा कडाइ गरे पनि भारतबाट आउनेहरू स्वास्थ्य जाँच गराएर सोझै घर पुग्ने गरेकाले संक्रमणको जोखिम बढाएको चिकित्सकहरूको भनाइ छ । अनियन्त्रित रूपमा भारतबाट आउनेलाई पक्राउ गरेपछि राख्ने ठाउँ नभएर पनि सुरक्षाकर्मीलाई समस्या भएको हो ।
प्रदेश सरकारले इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर, मोरङको विराटनगर र सुनसरीको भन्टाबारीमा नाका सञ्चालनसँगै १/१ हजार शय्याको होल्डिङ सेन्टर सञ्चालन गर्ने गरेको नीतिगत निर्णय हालसम्म कार्यान्वयन हुन सकेको छैन । सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेश सरकारले होल्डिङ सेन्टर यसअघि भएकै ठाउँमा सञ्चालन गर्ने नीतिगत निर्णय गरिसकेकाले चाँडै सञ्चालनमा ल्याउने बताइन् । सीमामा कडाइ गरिए पनि एकीकृत भन्सार जाँच चौकीबाट दैनिक आवतजावत भइरहेको ५ सय बढी मालवाहक सवारीसाधनका सवारीचालक र सहचालकले पनि संक्रमणको जोखिम बढाएको छ ।
दैनिक एक हजार बढी जना मालवाहक सवारी साधन लिएर आउने गरेकाले शंकास्पद व्यक्तिहरूलाई एन्टिजेन परीक्षण गरेर मात्रै आउन दिन चिकित्सकको सुझाव छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले भन्सार जाँच चौकीमा मालवाहक सवारी साधनलाई सेनिटाइज गर्ने, चालक, सहचालकलाई साबुन–पानीले हात धुने, स्वास्थ्य परीक्षण गरेर मात्रै आउन दिने गरेको बताए । उनले शंकास्पद व्यक्तिलाई एन्टिजेन परीक्षण गर्नुपर्ने भएकाले चाँडै निर्णय गरेर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।