कोरोना नियन्त्रणका लागि राजनीतिक संयन्त्र बनाउन माग
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले पार्टीका सबै कमिटीमा ३५ प्रतिशत महिलाको सहभागिता अनिवार्य गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।
माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सबै कमिटीमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र २० प्रतिशत युवासहितको समावेशी कमिटी बनाउने निर्णयसमेत गरेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार पार्टीका सबै समितिको पदाधिकारीमा एकजना महिला अनिवार्य हुनेगरी निर्णय भएको छ । सबै समितिमा ४० वर्षसम्मका युवा २० प्रतिशत राख्नुपर्ने छ ।
प्रवक्ता श्रेष्ठका अनुसार प्रदेश, जिल्ला र पालिका कमिटीमा त्यहाँको जनसंख्याका आधारमा दुई प्रतिशतको प्रतिनिधित्व अनिवार्य गरिनेछ । माओवादीको केन्द्रीय कमिटीमा बढीमा २९९ सदस्यीय बन्ने छ। पार्टीको नेतृत्व बहुपदीय रहने छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोनाको उपचारमा केन्द्रित अस्पताल तोक्न, अक्सिजनको व्यवस्था गर्न, औषधिको व्यवस्था गर्न र फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सुरक्षाको प्रत्याभूति निर्माण गर्न माग गरेको छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि राजनीतिक संयन्त्र बनाउनसमेत उसले माग गरेको छ । सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था आएको भन्दै माओवादीले यस्तो माग गरेको हो ।