ललितपुरको बालकुमारीबाट कोभिड–१९ विरुद्धको खोप लगाउन मंगलबार सबेरै निस्किएका राम तामाङ ४ घण्टा लाइनमा बसे । लगातार चार घण्टासम्म भीडमा उभिएपछि बल्ल उनी निदान अस्पतालको मुलगेटनजिक पुगे । तर, १२ बजेपछि लाइन रोकिएको रोकियै भयो ।
अस्पतालमा खोप थियो, तर खोप लगाउने व्यक्तिहरुलाई उपलब्ध गराइने खोपकार्डको अभाव भएको भन्दै लाइनमा रहेका मानिसहरुलाई थप एक घण्टा उभ्याइयो । अब खोप लगाउनै नपाइने हो कि भन्नेसम्मको अड्कल मानिसहरुले काटे ।
‘हामी नै अलमलमा छौं, पछाडि भएकाहरुको अवस्था के होला ?’ लाइनको अग्रभागमा रहेका एक सर्वसाधारणले पछाडितिर हेर्दै भने दुई सय मिटर लामो लाइन छिचोलेर मूलगेटसम्म आइपुगेकी रमिला शिल्पकार लाइनको पुछारमा उभिएकी थिइन् । लाइनमा उभिएका उनीजस्तै धेरै मानिसहरु दुुई कुराले त्रासमा थिए –
पहिलो – लामो लाइनमा उभिए पनि अन्तिममा खोप लगाउन नपाइएला कि ? दोस्रो – खोप पनि नपाइने, उल्टै कोरोना संक्रमित भएर पो घर फर्कनुपर्ने हो कि भन्ने चिन्ता ।
खोप लगाउनेहरुको लाइनको अग्रपंक्तिमा रहेका केही व्यक्ति भद्रगोल व्यवस्थापन र ढिलासुस्तीविरुद्ध आक्रोश पोखिरहेका थिए । तर, त्यसरी मास्क खोलेर चिच्चाइरहँदा आफू वरपरको वातावरणलाई थप भद्रगोल बनाइरहेको छु भन्ने हेक्काचाहिँ उनीहरुले राखेको देखिँदैनथ्यो ।
अस्पतालको मूलगेटमा ठूलै भीडनजिक प्रहरीको भ्यान पनि खडा थियो । तर, मास्क नलगाउनेलाई कारबाही गर्ने, सम्झाउने वा सामाजिक दूरीको नियमबारे बुझाउने काममा सक्रिय बनेको प्रहरीले त्यहाँको अनियन्त्रित भीडलाई कम गर्ने प्रयास भने गरेन । बरु, खोपकार्ड नआएसम्म धैर्यतासहित लाइनमा बस्न आक्रोशितहरुलाई प्रहरीले आग्रह गरे, त्यो पनि धेरैले टेरेनन् ।
यस्तै–यस्तै अलमलबीच झण्डै दिउँसो १ बजेतिर खोपकार्ड आइपुग्यो । अनि, फेरि त्यसमा सम्बन्धित व्यक्तिको नाम लेख्ने र खोप लगाउने काम सुरु भयो ।
लाइनमा मानिसहरु थपिने क्रम जारी थियो । ललितपुरको निदान अस्पतालमा मात्रै नभएर अल्का अस्पतालमा पनि सामाजिक दूरीको नियम पालना भएको देखिएन । यहाँको भीड अझै ठूलो थियो ।
‘यस्तो भीडभाडमा बसेर त के खोप लगाउनु ?’ लाइनमा बस्नै डर लागेपछि खोप लगाउने मनस्थिति त्यागेका एक व्यक्तिले भने, ‘कोरोनाबाट सुरक्षित हुनका लागि पो खोप लगाउने हो, यसरी भद्रगोल तरिकाले बस्दा उल्टै संक्रमित हुने सम्भावना हुन्छ । सहजै खोप लगाउन पाइन्छ कि भनेर आएको थिएँ, घण्टौंसम्म यसरी अरुसँग टाँसिएर लाइनमा बस्नु असुरक्षित लाग्यो । जहिले सहजरुपमा लगाउन पाइन्छ, त्यहीबेला लगाउने हो ।’
काठमाडौंका अधिकांश अस्पतालअगाडि मंगलबार यस्तै भीड थियो । अरु त अरु, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमै सर्वसाधारणको भीड थामिनसक्नु थियो ।
प्रतिदिन २ हजारजनालाई खोप लगाउन सक्ने प्रहरी अस्पतालको क्षमता भए पनि यहाँ ५ हजारभन्दा धेरै सर्वसाधारण लाइनमा थिए । र, पनि प्रहरीले भीड नियन्त्रण गर्न सकेन । ‘पब्लिक सेन्टिमेन्टको कुरा छ, खोप लगाउन आएकालाई प्रहरीकै अस्पतालमा लाठीचार्ज गर्न पनि भएन,’ प्रहरी अस्पतालकी प्रमुख (एआईजी) डाक्टर आशा सिंहले भनिन्, ‘दुई मिटरको दूरी कायम गर्नुस् भन्दा कोही टेर्दैनन् ।’
पहिलो चरणमा स्वास्थकर्मी, सरकारी कर्मचारी, फ्रन्टलाइनर्स, पत्रकार र त्यसपछि जेष्ठ नागरिकहरुका लागि खोप कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरुलाई भारतबाट अनुदानप्राप्त कोभिशिल्ड खोप लगाइएको थियो । त्यसपछि चीनबाट अनुदानमा प्राप्त भेरोसिल खोपको पहिलो डोज सर्वसाधारणले २५ चैतदेखि देशभरका २३ वटा खोप केन्द्रमार्फत लगाइरहेका छन् ।
सोमबारसम्म ३ लाखभन्दा बढीले यो खोप लगाइसकेका छन् । मंगलबार र बुधबार गरेर कुल १ लाखलाई खोप लगाउने सरकारको योजना छ । अहिले नेपाल सरकारसँग भएको खोप पनि यति नै हो । तर, खोप लगाउन आउने व्यक्तिको संख्या निकै ठूलो छ । त्यसकारण लाईनमा बसेका सबै व्यक्ति खोप लगाएरै फर्कन्छन् भन्ने ग्यारेन्टी छैन ।
लाइनमा उभिएको २ घण्टामै रमिलाको उत्साह कम भयो । यतिबेलासम्म उनी मध्याभागमै आइपुगेकी थिइनन् । ‘बस्न त बसियो । तर, ढिला आउनेको पालो आउँछ कि आउँदैन भन्ने थाहा छैन,’ रातोपाटीसँग रमिलाले भनिन् ।
विपद्को समय सरकारी समयअनुसार (१०–४) खोप लगाएर हुन्छ ? विपदमा त धेरैभन्दा धेरै समय खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने होइन ? रातोपाटीको यस प्रश्नमा जनस्वास्थविद् डा. रविन्द्र पाण्डे भन्छन्, ‘हो, परीक्षण २४ सै घण्टा हुनुपर्छ । र, कम्तिमा बिहान, दिउँसो र बेलुका गरी तीन सिफ्टमा खोप कार्यक्रम सञ्चालन गर्नुपर्छ । हामीले परीक्षण गर्न जाँदा, खोप लगाउन जाँदा हरेक स्टेपमा जनस्वास्थका मापदण्ड पालना गर्नुपर्छ ।’