माधवकुमार नेपाल समूह ठुलो धर्मसंकटमा

२०७८ बैशाख २१, मंगलवार १७:५४ गते २०७८ बैशाख २१, मंगलवार १७:५४ गते २०७८ बैशाख २१, मंगलवार १७:५४ गते

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कदमले नेकपा एमालेको माधवकुमार नेपाल समूह धर्मसंकटमा परेको छ । साविक नेकपाका बेलादेखि अर्थात एक वर्षअघिदेखि ओलीसँग टकराव परिरहेको नेपाल समूह अहिले निकै मुस्किल क्षणमा आइपुगेको छ ।

पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्नेदेखि पार्टी अध्यक्ष र साधारण सदस्यबाट हटाउनेसम्मको निर्णय गरेको नेपाल समूह अहिले एमालेभित्र राजनीतिक अस्तित्वको संघर्षमा छ । यही बेला प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने निर्णय गरेपछि माधवकुमार समूहलाई धर्मसंकट आइलागेको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि यही वैशाख २७ गते संसदको अधिवेशन डाकिएको छ । पार्टी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयलाई लिएर नेपाल समूह धर्मसंकटमा परेको हो ।

नेपाल समूहलाई प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने र नदिने दुुई विकल्प रहेका छन् । दुवै विकल्प मध्ये जुन रोजे पनि नेपाल समूहप्रति प्रश्न भने उब्जिने देखिन्छ । आफ्ना सांसद र नेताहरुमाथि कारबाही गर्नेदेखि अराजक चरित्र देखाएको प्रधानमन्त्री ओलीमाथि आरोप लगाएको नेपाल समूहले उनै ओलीलाई संसदमा विश्वासको मत दिँदा प्रश्नहरु उब्जने देखिन्छ ।

आफ्नै पार्टीका प्रधानमन्त्री ओलीलाई मत नदिँदा झनै पार्टी विभाजनको आरोपदेखि राजनैतिक नैतिकतामाथि प्रश्न उठ्न देखिन्छ । यी दुवै विकल्पले नैतिकताको प्रश्न उब्जने भएपछि नेपाल समूह धर्मसकंटमा गुज्रिएको एक नेताले जानकारी दिए ।

तर, राजनीतिक विश्लेषकहरुकाअनुसार नेपाल समूहलाई पार्टी एकताको पक्षमा उभिने मौका पनि रहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई विश्वासको मतको पक्षमा मतदान गरेर पार्टी एकताको सन्देश प्रवाह गर्ने नेपाल समूहका लागि मौका रहेको विश्लेषकहरुको भनाइ छ ।

तर, यसका लागि अध्यक्ष ओलीले आफूहरुसँग संवाद र सहयोगको आग्रह गर्नुपर्ने नेपाल समूहको माग छ । तर, यो सम्भव नरहेको पनि नेपाल समूहले बुझेको छ । यस कारण तेस्रो विकल्पको रुपमा संसद्मा सो दिन अनुपस्थित रहने वा सामूहिक राजीनामा दिने भन्ने विषयमा पनि छलफल भइरहेको सो समूहका एक नेताले जानकारी दिए ।

मत विभाजनको अवस्थामा संसदमा अनुपस्थित रहने वा मत जाहेर गर्ने बेलामा सांसदबाट सामूहिक राजीनामा दिने विषय पनि लोकतान्त्रिक तथा संसदीय चरित्र नहुने राजनीतिक विश्लेषकहरु बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *