काठमाडौं। भारतीय भ्याक्सिन उत्पादक कम्पनी सेरम इन्स्टिच्युट अफ इण्डियाका सीइओ अदर पूनावाला देश छाडेर भागेका छन् । देशका शक्तिशाली व्यक्तिहरुबाट तत्काल कोभिशिल्ड भ्याक्सिन माग गर्दै फोनमा लगातार धम्की आउन थालेपछि उनी देश छाडेर लण्डन गएका हुन् । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिशिल्ड भ्याक्सिन सेरम इन्स्टिच्युटले उत्पादन गरिरहेको छ ।द टाइम्सलाई दिएको एक अन्तरवार्तामा पूनावालाले आफूलाई भारतका शक्तिशाली व्यक्तिहरु मुख्य मन्त्रीहरु, ठूला व्यवसायीहरु लगायतबाट तत्काल कोभिशिल्ड भ्याक्सिन माग गर्दै धम्कीपूर्ण फोन आउन थालेको बताएका छन् । ‘लगातार धम्की आइरहेका छन् । अपेक्षा र आक्रामकताको तह अत्यन्तै उच्च छ । यो बाढीजस्तै छ । सबैलाई आफूले भ्याक्सिन पाउनुपर्छ भन्ने लागिरहेको छ । कसैले पनि आफूभन्दा पहिले अरु कसैले भ्याक्सिन किन पाउने भन्ने विषयमा बुझ्न चाहिरहेका छैनन्’ उनले भने ।
फोन कलबारे कुरा गर्दै उनले भने ‘उनीहरुले भ्याक्सिन नदिएमा राम्रो हुने छैन भन्छन् । उनीहरुको भाषाभन्दा पनि शैली निकै आक्रामक छ । यो मैले उनीहरुले भनेको मानिन भने उनीहरुले के गर्न सक्छन् भन्ने कुराको संकेत हो । यसले हामीलाई उनीहरुको माग पूरा नगरी अरु केही गर्न दिने अवस्था रहेन ।’ अहिले लण्डनमा रहेका पूनावालाले भने ‘म यहाँ बसिरहेको छु र यहाँ बस्ने समय बढाएको छु किनकि म त्यो स्थितिमा फर्केर जान चाहन्न ।’सबैजना आफ्नै काँधमा चढ्न खोजिरहेको तर आफू एक्लैले सो सबै गर्न नसक्ने बताउँदै उनले भने ‘म त्यस्तो परिस्थितिमा बस्न चाहन्न जहाँ तपाइँले आफ्नो काम गर्ने प्रयास गरिरहनुभएको छ तर कसैको माग पूरा गर्न नसकेकै कारण उनीहरुले कतिबेला के गर्छन भन्ने त्रासमा बाँचिरहनुपर्छ ।’ पूनावालाका अनुसार सेरमले भारतबाहिर पनि भ्याक्सिन उत्पादन बढाउने सोच बनाएको छ र उनको लण्डन यात्रा यसको लागि पनि हो । लगातार धम्की बढेपछि भारत सरकारले यो हप्ताको सुरुमा पूनावालालाई वाइ श्रेणीको सुरक्षा दिने निर्णय गरेको थियो ।