राष्ट्रपतिले ठूलो दलको हैसियतमा फरि ओलीलाई नै प्रधानमन्त्रीको शपथ ग्रहण गराउन सक्ने
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको डर नै राष्ट्रपतिसँग रहेको देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा विश्वासको मत नपाउने निश्चित भएपछि राष्ट्रपतिले ‘गलत कदममा साथ’ दिने हुन् कि भन्ने डर उनीहरुमा देखिएको छ ।
कस्तो गलत कदम ? भन्ने प्रश्नमा एक सांसद् भन्छन्– संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले ठूलो दलको हैसियतमा फरि केपी शर्मा ओलीलाई नै प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गराउन सक्नेछिन् । अहिलेको डर भनेकै यही हो ।”
संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठन सम्बन्धी व्यवस्था गरिएको छ ।
उपधारा (१) मा प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ भने उपधारा (२) मा कुनै दलको बहुमत नभएको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
यही धारा बमोजिम प्रधानमन्त्री रहेका ओलीले पार्टी विभाजनको अवस्थामा पुगेपछि विश्वासको मत लिन लागेका थिए ।
उनी निकट नेताहरुको तर्क पनि अब संविधानको धारा ७६(२) बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत लिन नसके स्वतः (३) मा जाने छ ।
७६(३) अनुसार ओलीले फेरि पनि प्रधानमन्त्रीकोरुपमा शपथ ग्रहण गर्न सक्ने तर्क ओली निकटका नेताहरुको छ ।
पूर्वसांसद तथा कानुनविद् रेवतीरमण भण्डारीले केपी शर्मा ओलीले विश्वासको मत लिन नसके ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्रीकै शपथ ग्रहण गर्ने तर्क गर्छन् ।
“२ बमोजिम उहाँ प्रधानमन्त्री भइसक्नुभयो,” उनको तर्क छ, “२ बमोजिम विश्वासको मत लिन सक्ने अवस्था नभएमा अब जाने भनेकै ३ मा हो । संविधानले यस्तो अवस्थामा अर्को प्रधानमन्त्रीको परिकल्पना गरेको छैन ।”
संविधानको धारा ७६ (३) मा प्रतिनिधि सभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।
यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।
नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले संविधानको गलत व्याख्या नगर्न एमाले नेताहरुलाई चेतावनी दिइन् ।
उनले प्रधानमन्त्री ओलीले संविधानको धारा १०० अनुसार विश्वासको मत लिन लागेकाले विश्वासको मत प्राप्त नगरेपछि अर्को सरकार गठनको प्रक्रिया सुरु हुने बताइन् ।
उनले सर्वोच्च अदालतले पनि संसद्बाट नयाँ सरकार गठन हुन सकुन्जेल विघटन वा विकल्पमा जान नहुने फैसला गरेकाले त्यसो गर्न नमिल्ने बताइन् ।
तर नेकपा एमाले माधवकुमार नेपाल समूहका सांसदहरुमा पनि कांग्रेस–माओवादी सांसदहरुलाई जस्तै डर छ ।
सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्रीलाई नियम, कानुन केही नलाग्ने भएकाले ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्रीको शपथ लिन लागेको जानकारी पाएको बताए ।
उनले अहिले भर्खरै सम्पन्न बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले अहिले राजीनामा दिएर फेरि शपथ लिने तयारीमा रहेको सूचना आफूहरुले पाएको बताए ।