काठमाडौं । नेकपा एमालेको काठमाडौं वडा नम्वर ३० को कमिटीले मास्क र साबुन वितरण गरेको छ । वडा कमिटी अध्यक्ष मुरारीमोहन जोशीले तीन दिनसम्म लगाएर मास्क र साबुन बाँडिएको बताए । उनले आवश्यकता अनुसार फेरि पनि वितरण गर्ने स्पष्ट पारेका छन् । जिल्ला कमिटी सदस्य राधा दाहालले कोरोना भाइरसको संक्रमण बढ्दै गरेकाले त्यसबाट सुरक्षित रहन आग्रह गर्दै मास्क र साबुन वितरण गरिएको जनाइन् । उनले मैतिदेवी, धोविधारा र डिल्लीबजारको सडकमा बसेर ती सामग्री बाँडिएको बताइन् ।
पार्टीको वडा कमिटी सदस्य राजुभाई बज्राचार्यले संक्रमण बढ्दै गएकाले केही दिन कार्यक्रम स्थगन गर्ने सल्लाह भएको जनाए । उनले आफूहरुको सानो सहयोगले कसैको जीवन बचाउन सकिन्छ कि भनेर अभियान चलाएकोमा जोड दिए । वडाकै स्थानीय वासिन्दासमेत रहेका सामाजिक अभियन्ता राधेश्याम मिश्रले सबैको समन्वयमा कोरोना नियन्त्रण गर्न सकिने भएकाले कार्यक्रममा आफू पनि सहभागी भएको स्पष्ट पारे । मिश्रले कोरोना नियन्त्रणका लागि सबै नागरिक सचेत हुनुपर्ने र आफ्नो ठाउँबाट पनि केही सहयोग गर्ने र जनचेतना फैलाउने काममा लागिरहेको बताएका छन् ।