काठमाडौं ः पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमित भएर १९ दिनदेखि उपचार गराइरहेका पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वस्थ भएर बुधबार राति नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्।
पूर्व राजा ज्ञानेन्द्र, रानी कोमल र छोरी प्रेरणालाई कोरोना भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालमा पूर्व राजाको परिवारलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि तीनै जनाको स्वास्थ्यमा सुधार आएको थियो। कोरोना भाइरसका लक्षणहरू हराएपछि पूर्व राजाको तीन दिन अघिको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो।
अस्पतालमा उपचाररत पूर्व महारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख रहेको अस्पताल प्रशासनले जनाएको छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिदैंँ आएको अक्सिजनको मात्रा लगातार घटाउँदै उपचार जारी राखिएको बताइएको छ। स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई आइसियूबाट वार्डमा सारिएको छ। पूर्व रानीको उपचारमा प्लाज्मा थेरापी विधि समेत अपनाइएको थियो ।
पूर्व अधिराजकुमारी प्रेरणा शाह स्वस्थ्य भैसके पनि उनी आमासँग अस्पतालमै रहने भएकी छिन्।