समयमा मजदूरी गरेको पैसा नदिँदा मालिकको हत्या, तीन जना पक्राउ

२०७८ जेष्ठ ३, सोमबार ०९:२० गते २०७८ जेष्ठ ३, सोमबार ०९:२० गते २०७८ जेष्ठ ३, सोमबार ०९:२० गते

समयमा मजदूरी गरेको पैसा नदिँदा मालिकको हत्या, तीन जना पक्राउ
मोरङको लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन् । शनिबार साँझ मोरङ प्रहरीले १९ वर्षीय भुपाल लिम्बूलाई पक्राउ गरेको हो ।

यसअघि प्रहरीले लेटाङ–३ का २१ वर्षीय सुशील दर्जी नेपाली र २० वर्षीय दिलबहादुर लिम्बूलाई पक्राउ गरेको थियो । शनिबार बिहान नै पक्राउ परेका उनीहरूको बयानको आधारमा प्रहरीले भुपाललाई पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

‘घटनाको अनुसन्धान गर्नेक्रममा भुपालको संलग्नता देखियो,’ उनले केटिएम दैनिकसँग भने, ‘हत्या गर्न जाँदा उनी पनि थिए भनेर बयानका क्रममा खुल्यो, यसैले उनलाई नियन्त्रणमा लिएका हौँ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’ बयानका क्रममा तीनै जनाले समयमा मजदूरी गरेको पैसा नदिँदा मालिकको हत्या गरेको स्वीकारेको डिएसपी राईले बताए ।

उक्त घटनाका आरोपी र मृतक साथी–साथी रहेको खुलेको छ । डेढ वर्षअगाडि काम गरेको पैसा नदिएपछि मिलेर आफ्नै साथीको हत्या भएको हो । हत्या आरोपी दर्जी र लिम्बूलाई इलाका प्रहरी कार्यालय लेटाङ्गले शनिबार बिहानको राति २ बजेतिर पक्राउ गरेको थियो ।

मृतक राईले ट्र्याक्टर भाडामा लिएर दर्जी र लिम्बूलाई गिट्टी र बालुवा ओसार-पसारको काम गराउने गरेका थिए । लामो समयदेखि मजदूरी गरेको रकम नदिएका कारण शुक्रबार राति उनीहरू आफूहरूले काम गरेको पैसा माग्न रोमनको कोठा पुगेका थिए । डेढ वर्षअगाडि काम गरेको पैसा माग्ने क्रममा आपसी विवाद सिर्जना भएको थियो । जसक्रममा दर्जीले राईमाथि धारिलो छुरा प्रहार गरेका थिए । पेटमा छुरा प्रहार गरिएपछि राई गम्भीर घाइते बनेका थिए ।

उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा उनको बाटैमा राति १०ः३० बजेतिर मृत्यु भएको थियो । यता, राईलाई गम्भीर घाइते बनाएपछि दर्जी र लिम्बू फरार भएका थिए ।

राईले भाडामा लिएको ट्र्याक्टरमा ढुङ्गा, गिट्टीको माग पुर्‍याउने काम गर्थे । ‘त्यही काम गरेका पैसा माग्न जाँदा विवाद भएको र त्यसैक्रममा रोमनमाथि छुरा प्रहार भएको देखिएको छ’, डिएसपी राईले भने, ‘कति पैसा लिनुपर्ने भएकोले झगडा भएको हो, त्योबारे खुलेको छैन । अहिले अनुसन्धान भइरहेको छ ।’

रोमनलाई आक्रमण गर्नुअगाडि दर्जी र लिम्बूले मदिरा सेवन पनि गरेको खुलेको छ । प्रहरीका अनुसार हत्या गरिएका राई ट्र्याक्टर भाडा लिएर काम गर्न छोडेपछि लेटाङमै पुलहाउस सञ्चालन गरेर बस्थे । पक्राउ परेका तीन जनालाई इप्रका लेटाङले आइतबार ‘कर्तब्य ज्यान’ मुद्दामा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *