एमाले विवाद: ‘ओली गले कि खनाल–नेपाल ?’

२०७८ जेष्ठ ३, सोमबार १०:५६ गते २०७८ जेष्ठ ३, सोमबार १०:५६ गते २०७८ जेष्ठ ३, सोमबार १०:५६ गते

एमाले विवाद: ‘ओली गले कि खनाल–नेपाल ?’
विभाजनको सँघारमा पुगेको नेकपा एमालेमा अहिले एकताका लागि सङ्घर्ष चलिरहेको छ । हालसम्म नयाँ प्रगति केही भएको छैन । तर, केही सकारात्मक सङ्केत अवश्य देखिएका छन् । अब पार्टी एक रहने वा पुनः विभाजनको दिशामा जाने त्यसको छिनोफानो अब कार्यदलले गर्ने भएको छ ।

आइतबार(आज) दुवै पक्षका पाँच–पाँच जना सम्मिलित कार्यदल बनेको छ । कार्यदलमा अध्यक्ष ओली पक्षको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने माधव नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् । कार्यदलले एमालेलाई २०७५ जेठ २ (तत्कालीन नेकपा बन्नुअघि) फर्किने विषयमा टुङ्गो लगाउने छ । जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरू सबै कुरा टुङ्गो यही कार्यदले टुङ्गो लगाउने छ ।

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिँदादेखि नै खनाल–नेपाल पक्ष एमालेमा फर्किने भन्दै माओवादीबाट अलग्गिएका थिए । सुरु देखिनै खनाल–नेपाल पक्षले ब्युँतिएको एमाले २०७५ जेठ २ मै फर्किनुपर्ने अडान राखेका थिए । त्यहीबाट बैठक सुरु गर्नुपर्ने बताएका थिए । तर, ओलीले मानेनन् । उनले विभिन्न निर्णय गर्दै गए । ओलीले सबै ढोका बन्द गरिदिएपछि उनीहरू बाध्य भएर समानान्तर गतिविधितिर लागे । ओलीले एकलौटी बैठक राखेर माओवादीबाट २३ जनालाई एमालेमा भित्र्याए । उनीहरूलाई विभिन्न जिम्मेवारी दिए । खनाल–नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसे । कतिसम्म भने खनाल–नेपाल पक्षका नेताहरूलाई साधारण सदस्यबाट समेत निकाल्ने काम ओलीले गरे । खनाल–नेपाल पक्षका सांसदहरूलाई स्पष्टीकरण सोधे । उनीहरूलाई कारबाहीसम्मको तयारी गरे ।

हुनत खनाल–नेपाल पक्ष पनि के कम । उसले पनि आफ्ना गतिविधि निरन्तर जारी राख्यो । देशभर समानान्तर कमिटी बनाउने काम गरे । भातृ संस्था र जनवर्गीय कमिटी पुनर्गठन गरे । कतिसम्म भने कर्णालीमा माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिए । जसको कारण कर्णालीमा एमालेको बहुमत हुँदा हुँदै पनि प्रतिपक्षी भएर बस्नुपरेको छ । फ्लोर क्रस गर्ने खनाल–नेपाल पक्षका सांसदको पदसमेत गयो । तर, उनीहरूले हार मानेनन् ।

‘ओली गले कि नेपाल लत्रे ?’
एमाले विवादकै कारण ओलीलाई सत्ता टिकाउन गाह्रो भयो । नेपाल पक्षकै कारण विपक्षीको सरकार बन्नेसम्मको अवस्था आयो । वैशाख २७ गते एमाले विभाजनको अनौपचारिक घोषणा भयो । नेपाल पक्षका सांसदले ओलीलाई विश्वासको मात दिएनन् । उनी अल्पमतमा परे । राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकार गठनका लागि तीन दिनको समय दिएपछि सुरु भयो एमाले एकीकरणको प्रयास । तेस्रो दिनसम्म पनि विपक्षी गठबन्धनमा नेपाल पक्षका सांसदले राजीनामा दिनेमा विश्वस्तजस्तै थिए । ओली र नेपालबिच चार घण्टा लामो छलफल चल्यो । वार्ता सकारात्मक दिशामा अघि बढ्यो । नेपाल पक्षका सांसद राजीनामा दिनबाट तत्काललाई पछि हटे । विपक्षीहरूका सबै प्रयासमा असफल भए । पुनः ओली नै प्रधानमन्त्री बन्ने बाटो खुल्यो र हाल उनी पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । यद्यपि उनले तीस दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

अब प्रश्न उठ्छ जेठ २ मा फर्किन कार्यदलसम्म भए पनि बनाउन ओली किन र कसरी तयार भए ? जुन माग नेपाल पक्षले एमाले ब्युँतिदा देखिनै राख्दै आएको थियो । अदालतको फैसलापछि नै एमाले जेठ २ मा फर्किनुपर्ने हो । उनले नेपाल पक्षलाई त्यति बेला वास्तै गरेनन् । एउटा कुरो प्रष्ट के छ भने ओली आफ्नो सत्ता जोगाउन नेपाल सामु गलेकै हुन् । उनीसँग सत्ता जोगाउने अरू कुनै विकल्प थिए । भएको विकल्प जसपाको एउटा पक्षलाई रिसोटमा दिनभर राख्नेसम्मका काम गरेकै हुन् । अलिकति पनि तलमाथि भएको भए हाल विपक्षी दलका कुनै एक नेता प्रधानमन्त्री भइरहेका हुन्थे । ओलीले त्यसो हुन दिएनन् । बरु जेठ २ मा फर्किने विषयमा छलफल गर्न राजी भए ।

तर, यहाँ ओली गलेका मात्रै होइनन् नेपाल पनि लत्रिसकेका थिए । केही दिनअघिदेखि नै राजीनामा बोकेर हिँडेको बताइरहेका नेपाल पक्षमै यसबारे दुई मत थियो । नेपाल पक्षकै केही सांसदले राजीनामा दिन नहुने बरु जसरी पनि मिल्नुपर्ने अडान लिएपछि नेपाल बाध्य भएर सम्झौता गर्ने अवस्थामा पुगेका हुन् ।

एमाले विभाजन तत्काललाई टरेको हो मिलिसकेको छैन । त्यसका लागि केही जटिलता र आशङ्का दुवै पक्षसँग छन् । जुन कुरा नेपाल पक्षको शनिवार भएको केन्द्रीय समितिको भर्चुअल बैठकमा समेत उठ्यो । बैठकअघि नेपाल पक्षको नेताहरू ओलीसहितका नेतालाई भेट्न बालुवाटार पुगेका थिए । जहाँ माओवादीबाट एमाले बनेका रामबहादुर थापा बादलको समेत इन्ट्री भयो । जसले एमाले नेताहरू झस्किए ।

एमाले विवाद र जेठ २ अघि फर्किन सहमति खोजिरहेका नेताहरूले छलफलमा दुई महिनाअघि एमाले बनेका बादलको इन्ट्रीपछि केही सशङ्कित भए । सोही कुरा उनीहरूको केन्द्रीय समिति बैठकमा पनि उठ्यो । नेपाल पक्षका केन्द्रीय सदस्यहरूले नेपाललाई बैठकमा ओलीले थापालाई शुक्रवारको बैठकमा सहभागी गराएको विषयमा आपत्ति जनाएका छन् । उनीहरूले थापालाई सहभागी गराएर २०७५ जेठ २ मा फर्कन अस्वीकार गरेको सन्देश दिएको जनाएका थिए । उनीहरूले ओलीले सम्झौता गरेर पछि धोका दिन सक्ने तर्फ समेत नेताहरूलाई सचेत गराए । एमालेमा जेठ २ मा फर्किन एउटै समस्या छ । त्यो हो माओवादीबाट एमाले बनेकाहरूको व्यवस्थापन र उनीहरूसँग नेपाल पक्षको डर ।

एमालेका प्रायः सबै कमिटीमा नेपाल पक्ष अल्पमतमा छ । माओवादीबाट आएका २३ जनालाई ओलीले केन्द्रीय सदस्य बनाएका छन् । उनीहरूसमेत जोड्दा एमालेमा नेपाल समूह झन् कमजोर हुने देखिन्छ । यसको असर आगामी महाधिवेशनमा पनि पर्ने निश्चित छ । जुन डर अहिले नेपाल पक्षलाई छ । अर्को डर के पनि हो भने तत्कालीन नेकपा हुँदा नेपाल पक्षले ओलीविरुद्ध अधिकतम गतिविधि गरेका छन् । तल्लो स्तरमै उत्रिएर राजनीतिक गालीगलौज भएको छ । ओलीले यसको बदला लिन सक्ने भय पनि यथावत् नै छ । यी विभिन्न शङ्का, उपशङ्का र भयका साथ दुवै पक्ष अब कार्यदलमा छलफल गर्नेछन् र सहमति खोज्ने प्रयास गर्नेछन् । जसले एमालेको आगामी बाटो तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *