नेपालमा देखिएको कोरोना शक्तिशाली, एक संक्रमितले एक मिनेटमै सयौँलाई सार्ने
काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोनाभाइरस संक्रमण फैलिएको सरकारले पुष्टि गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोनाभाइरस संक्रमण फैलिएको पुष्टि गरेको हो ।
अघिल्लो हप्ता मुलुकका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको परीक्षण गर्दा ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको मन्त्रालयले जारी गरेको सार्वजनिक अपीलमा उल्लेख छ ।
मन्त्रालयकाअनुसार यी दुवै भेरियन्ट पहिलो पटक भारतमा देखिएको थियो । दुवै भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले नै विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरेको मन्त्रालयले जानकारी दिएको छ ।
यसअघिको भाइरसभन्दा बढी संक्रामक र घातक मानिएको नेपालमा देखिएको सो भेरियन्टबाट संक्रमित एकले बन्द कोठाभित्र एकै मिनेटमा सयौँलाई सार्न सक्ने विज्ञहरुले बताएका छन् ।
सबै उमेर समूहका व्यक्तिलाई असर गर्ने यस भेरियन्ट निकै संक्रामक रहेकाले घातक मानिएको छ । अहिले प्रयोगमा आएका कोरोनाविरुद्धको एष्ट्राजेनिका, कोभ्याक्सिन, भेरोसेल खोप प्रभावकारी रहेको विज्ञहरुले दाबी गरेका छन् ।