अपराध कथामा बनेका फिल्महरू संसारभर लोकप्रिय छन्। ‘द गडफादर’, ‘गडफेलाज’, ‘सिटी अफ गड’, ‘पल्प फिक्सन’, ‘ग्याङ्स अफ वासेपुर’ जस्ता चर्चित फिल्म अपराध कथामा बनेका हुन्।
पछिल्लो समय अपराध कथामा बनेका ‘मिर्जापुर’, ‘दिल्ली क्राइम’, ‘असुर’ जस्ता भारतीय वेबसिरिज धेरैले रूचाएका छन्।
अपराधीको मनोविज्ञान, अपराध र राजनीतिबीचको सम्बन्ध, प्रहरीका प्रयास र व्यवस्थाका संस्थागत कमजोरीजस्ता पक्ष समेटिने यस्ता अपराध कथाले मनोरञ्जन दिनेसँगै समाजभित्रका समस्या चित्रण गर्ने काम गर्दै आएको छ।
यहाँ छनोट गरिएका तीन फिल्ममा पनि यस्ता पक्षहरू देख्न पाइन्छ। यी फिल्ममा व्यवस्थाभित्र एक जना व्यक्ति वा समूह कसरी अपराधको चक्रब्यूहमा फस्छन् भन्ने कुरालाई विभिन्न कोणबाट देखाइको छ। विषय र पात्रबाहेक कथा भन्ने शैली र शिल्पका हिसाबले पनि यी फिल्मले सिनेमा क्षेत्रमा चर्चा कमाएका छन्।
हेर्नुस्, अपराध कथामा बनेका तीन राम्रा हिन्दी फिल्म।
परिन्दाः
विद्युविनोद चोपडाको निर्देशनमा बनेको ‘परिन्दा’ बलिउडको ट्रेन्डसेटर फिल्म हो। सन् १९८९ मा सार्वजनिक वर्षकै चर्चित फिल्म परिन्दाको ३२ वर्षपछि पनि चर्चा भइरहनुका धेरै कारण छन्। व्यावसायिकता र कलात्मक पक्षको संयोजन यसको मुख्य कारण हो।
परिन्दा किसन र करण नामका दाजुभाइको प्रेम र द्वन्द्वको कहानी हो, जसमा मुम्बईको अपराध र हिंसाको कथा गाँसिएर आउँछ। यसै क्रममा फिल्मले व्यक्तिका बाध्यता र व्यवस्थाका कमजोरीसमेतलाई छोएको छ।
किसन गरिबीसँग जुध्दाजुध्दै अपराध र गैरकानुनी बाटो हिँडेका पात्र हुन्। उनले आफू अपराध दुनियाँमा लागेर भाइ करणलाई भने अमेरिका पढ्न पठाएका हुन्छन्। करण अमेरिकाबाट फर्केको सन्दर्भबाट फिल्मको कथा अघि बढ्छ।
करण मुम्बई फर्किनासाथ दाइ किसनका साथै बालसखा प्रकाश र प्रेमिका पारोलाई भेट्न उत्साहित छन्। पारो प्रकाशकी बहिनी हुन्। करण आउने दिन इन्सपेक्टर प्रकाशलाई माफिया डन अन्नाका मान्छेले मार्ने योजना बनाइरहेका हुन्छन्।
करण प्रकाशलाई भेट्न गएकै बेला अन्नाका मानिसले प्रकाशलाई गोली हान्छन्। आफ्नो साथी आँखैअगाडि मारिएपछि करण विचलित बन्छन्। उनको पीडा त्यति बेला झनै बढ्छ, जब उनलाई आफ्नै दाइ किसन अन्नाका खास मान्छे भएको थाहा हुन्छ।
यो घटनाले दाजुभाइको आदर्श प्रेम र मित्रतामा दरार आउँछ। करण र पारोको सम्बन्ध पनि बिग्रिन्छ। यो उथलपुथलपूर्ण यात्रामा मित्रता, प्रेम, नैतिकता, अपराध र बदलाका किस्साहरूले नयाँ मोड लिन्छन् र फिल्म रोचक बन्दै जान्छ।
यो कथालाई जीवन्त बनाउन मुख्य कलाकार ज्याकी श्राफ, नाना पाटेकर, अनिल कपूर, माधुरी दीक्षित, अनुपम खेर, सुरेश ओबराय लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। दाजुभाइका रूपमा ज्याकी र अनिल कपूरको केमेस्ट्री र नाना पाटेकरको अभिनय फिल्मलाई रोचक बनाइराख्ने खास पक्ष हुन्।
फिल्ममा नाना पाटेकरले आगोसँग डराउने विक्षिप्त डनको भूमिकामा उत्कृष्ट काम गरेका छन्। यसअघि केही फिल्ममा प्रशंसा पाए पनि नाना पाटेकरलाई बलिउडमा स्थापित गर्ने मुख्य फिल्म परिन्दा नै हो। उनले यो भूमिकाका लागि उत्कृष्ट सह-अभिनेतातर्फ नेसनल अवार्ड र फिल्मफेयर अवार्ड जितेका थिए।
भाइको खुसीका लागि जेसुकै गर्न तयार किसनको भूमिकाका लागि ज्याकी श्राफले उत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए। फिल्म उत्कृष्ट निर्देशक र स्क्रिनप्लेसहित पाँच विधामा फिल्मफेयर अवार्ड जित्न सफल भएको थियो।
सीमित स्रोतसाधन प्रयोग गर्दै वास्तविक ठाउँमा छायांकन गरिएको यो फिल्ममा देखिने समुद्री किनार, गल्ली, मन्दिर र उडिरहेका परेवालाई सिनेमाटोग्राफर विनोद प्रधानले सुन्दर रूपमा पर्दामा उतारेका छन्। सम्पादनतर्फ फिल्म सम्पादक रेणु सलुजाले पनि नेसनल अवार्ड जितेका थिए।
मुम्बई अन्डरवर्ल्डका गतिविधि चित्रण गर्न छनोट गरिएका ठाउँ र प्राकृतिक प्रकाशको प्रयोग पनि परिन्दाको विशेषता हो। फिल्ममा रंग संयोजन र ध्वनिको प्रयोग उत्तिकै सशक्त छ। परिन्दाको ‘तुमसे मिलके’ बोलको गीत निकै चर्चित छ। आरडी बर्मनको संगीत रहेको यो फिल्ममा अहिलेका चर्चित निर्देशक सञ्जयलीला भन्साली सहायक निर्देशक थिए