आजको मौसम : देशका यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र भारतमा रहेको चक्रवात ‘ताउते’ चक्रवातको प्रभावका कारण आज ९बिहीबार० पनि नेपालका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले काठमाडौं उपत्यकालगायत देशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले बिहीबार ९आज० बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । उच्च हिमाली भेगका केही स्थानमा भारी हिमपात–वर्षाका सम्भावना छ ।
यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । यस्तै उच्च हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात, वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
भारतमा खासगरी गुजरात राज्यमा विनास निम्त्याएको ताउते चक्रवातले नेपालमा पनि केही दिनयता मौसम बदली वर्षा गराइरहेको छ । मौसम महाशाखाका अनुसार ताउते अहिले गुजरातबाट उतर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको छ ।
भोलि शुक्रबारदेखि भने वर्षाको मात्रा कम हुँदै जाने सम्भावना महाशाखाले औंल्याएको छ । शुक्रबार दिउँसो देशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । राति पनि प्रदेश–१, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा लेखिएको छ– देशका धेरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात, वर्षाको सम्भावना समेत रहेकाले खोलानालाहरूमा जलप्रवाह बढ्ने र यातायत क्षेत्र समेत प्रभावित हुने सम्भावना छ । आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।