कतार र चीन सातामा एक-एक उडान गर्ने निर्णय अन्योलमा, जुन १ बाट छ देशमा उडान खुलागर्ने तयारी
काठमाडौं : सरकारले कतारको दोहा र चीनको गोन्जाओमा सातामा एक-एक उडान गर्ने निर्णय गरेको छ। केहीदिन अगाडि बसेको मन्त्रिपरिषद्को बैठकले मेडिकल सामाग्री ल्याउनका लागि उडान खुला गर्ने निर्णय गरेको हो।
उडान नेपाली वायुसेवा कम्पनीबाट गराउने गरी खुला गर्ने निर्णय भएको हो। तर, निर्णय कार्यान्वयमा केही अन्योल देखिएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै उडान खुला गर्ने विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलमा सरोकारवाला निकायसँग छलफल भएको थियो। छलफलमा उडान खुला गर्ने विषयमा स्पष्ट नभएको पर्यटनमन्त्री भानुभक्त ढकाललाई कर्मचारीले बिफ्रिङ समेत गरेका छन्।
उडानमा यात्रु बोक्न पाउने वा नपाउने कुनै पनि विषय उल्लेख भएको छैन। ‘निर्णयमा मेडिकल सामान तथा उपकरण ल्याउन सातामा कतारको दोहा र चीनको गोन्जाओमा एक-एक उडान गर्ने दिने निर्णय भएको छ’, पर्यटन मन्त्रालय स्रोतले भन्यो, ‘उक्त निर्णय कार्यान्वयन गराउन भन्दा केही पनि प्रक्रिया अगाडि नबढाउने हो।’
त्यसैगरी मन्त्रालयले जुन १ बाट चीन, कतार, टर्कि, साउदी अरब, युएई र मलेसियामा सातामा २ वटा सम्म सेड्युल उडान खुला गर्ने तयारी गरेको छ। सोही अनुसार प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी भएको मन्त्रालयले जनाएको छ।