अस्ताए चरा अनुसन्धानका पायोनियर

२०७८ जेष्ठ ७, शुक्रबार ०६:४४ गते २०७८ जेष्ठ ७, शुक्रबार ०६:४४ गते २०७८ जेष्ठ ७, शुक्रबार ०६:४४ गते

जेष्ठ ६, २०७८अब्दुल्लाह मियाँ
उनले अनुसन्धानका क्रममा नेपालमा चराका १३ नयाँ प्रजाति पत्ता लगाएका थिए । काठमाडौँ — नेपालका चरा अनुसन्धानमा करिब ६० वर्ष बिताएका हरिशरण नेपाली “काजी” को निधन भएको छ । चरा अनुसन्धानमा पायोनियर मानिने काजीको काठमाडौंको क्षेत्रपाटीस्थित निवासमा बुधबार निधन भएको हो । उनी सन् १९३४ मा क्षेत्रपाटीमै जन्मिएका थिए ।

नेवार समुदायमा जन्मिए पनि उनले जातीयतालाई कहिल्यै महत्व दिएनन् । सबै नेपाली बराबर हुन् भन्ने सन्देश जाओस् भनेर उनले नामको पछि नेपाली जोडेका थिए । चराप्रेमी माझ भने उनी “काजीदाई”ले चर्चित थिए ।
काजीले चराको पहिलो नमुना सन् १९५६ मा संकलन गरेका थिए । सन् १९६४ को “सर्भे अफ नेपाल” मा उनले सहअनुसन्धानकर्ताका रुपमा डा. आरएल फ्लेमिङसँग काम गरेका थिए । “सन् १९८० मा बायोग्राफी स्टडी अफ द स्ट्रन हिमालयज्” परियोजनामा उनी सहअनुसन्धानकर्ताका रुपमा आबद्ध थिए ।

नेपालका चरासम्बन्धि उनका लेखहरु विभिन्न देशका जर्नलहरुमा प्रकाशित छन् । सन् १९७२ मा “सम बर्डस् फ्रम नेपाल” नामको लेख भारतको बम्बई नेचुरल हिस्ट्री सोसाईटीको म्यागजिनमा प्रकाशित भएको छ भने सन् १९८१ मा बैंककको म्यागजिनमा “बर्डस् माईग्रेसन” नामको लेख प्रकाशित भएको छ ।

उनले नै नेपालमा पहिलो पटक सन् १९७६ मा “नेपाल बर्ड वाचिङ क्लब” खोलेका थिए । सन् १९८२ मा त्यही क्लबलाई पंक्षी संरक्षण संघ नेपाल (बीसीएन) नाम दिएका हुन् । उनी बीसीएनका संस्थापक अध्यक्षसमेत हुन् । बीसीएनमा अहिले एक हजार ५ सय सदस्य छन् । सुरुमा चरा अवलोकन गर्नेहरुको क्लबका रुपमा मात्र सीमित पंक्षी संरक्षण संघ अहिले चरा अनुसन्धानमा सक्रिय छ ।

पछि उनलाई पछ्याउँदै हेमसागर बराल, राजेन्द्रनरसिंह सुवाललगायतले पनि चरा अनुसन्धानलाई निरन्तरता दिए । बराल र सुवाल अहिले पनि संरक्षणमै सक्रिय छन् । काजीका समकक्षिहरु भने अरु बाँकी छैनन् ।

कास्कीको नौंडाडामा सन् १९७२ मा फिल्ड जाँदाका बखत् हरीशरण नेपाली “काजीदाई” । तस्बिर: डा.परासरनारायण सुवाल

६० वर्षको अवधिमा उनले करिब ५ सय ७५ प्रजातिका १ हजार वटा नमुना (भाले–पोथी) हरू संकलन गरेको जानकारहरु बताउँछन् । ती नमुना अहिले पनि त्रिविको प्राकृतिक विज्ञान संग्रहालयमा सुरक्षित छन् । उनले अनुसन्धानका क्रममा नेपालमा चराका १३ नयाँ प्रजाति पत्ता लगाएका थिए ।

नेपालमा नयाँ चरा पहिचानबारे उनीले अलग्गै विधि तयार गरेका थिए, त्यसैलाई आधिकारिक मानेर नेपालमा पाइने चराको संख्यासमेत यकिन गरिएको छ । उनी सानो उमेरदेखि नै चराको खोज र अनुसन्धानमा होमिएका थिए । वर्षको ८ देखि ९ महिना उनको समय जंगलमै बित्थ्यो, त्यसैले उनले औपचारिक शिक्षा पूरा गर्न पनि पाएका थिएनन् ।

सुरुका दिनमा दरबार हाइस्कुलमा अध्ययन गरेका उनले विद्यावारिधी हासिल नगरे पनि कयौं सोधकर्ता र अनुसन्धानकर्मीहरु उनीसँग जानकारी लिन पुग्थे । उनले त्रिविको प्राणीशाश्त्र केन्द्रिय विभागमा इन्चार्ज (सन् १९७१–१९७४) र प्राकृतिक विज्ञान संग्रहालयमा (१९७५–१९७८) पनि काम गरेका थिए । सन् १९८१ मा उनी आईयूसीएनको सदस्य भएका थिए र उनले युकेको इन्टरनेशनल काउन्सिल फर बर्ड प्रिजरभेसन (आईसीबीपी) मासमेत योगदान दिएका थिए ।

बीसीएनकी प्रमुख कार्यकारी अधिकृत ईशाना थापाले चरा अनुसन्धानमा लामो समय सक्रिय विज्ञको निधनबाट चरा संरक्षण तथा अनुसन्धानका क्षेत्रमा अपुरणीय क्षति पुगेको बताइन् । “चरा अनुसन्धानमा उहाँको योगदानको हामी स्मरण गरिरहनेछौं,” उनले भनिन् । बीसीएनमा सीईओ रहिसकेका संरक्षणकर्मी हुमबहादुर गुरूङले उनले जीवन नै चरा अनुसन्धानमा समर्पण गरेको बताए । “उहाँको साथ सहयोग र योगदानले नै पक्षी संरक्षण संघ स्थापित भएको हो,” उनले भने, “उहाँकै माध्यमबाट नेपालमा धेरै जनाले चरा अनुसन्धानबारे ज्ञान हासिल गर्न पाएका थिए, उहाँको निधनबाट नेपाललाई धेरै क्षति पुगेको छ ।”

पंक्षीविद्समेत रहेका संरक्षणकर्मी राजेन्द्रनरसिंह सुवाल “काजीदाई”बाट नै चरा पहिचान गर्न सिकेको भन्दै उनलाई “हिरो” र “मेन्टर”का रुपमा व्याख्या गर्छन् । “नेपालले चरा अनुसन्धानका इतिहास गुमाएको छ” उनले कान्तिपुरसित भने, “हृदयदेखि निष्ठावान भएर चरा अनुसन्धानमा अनबरत लागेको व्यक्ति हो ।” काजीले संकलन गरेका चराको नमुना राखेर त्रिविको प्राकृतिक विज्ञान संग्रहालयले नयाँ पुस्तालाई ज्ञान दिएको उनको बुझाइ छ । “यस्तो संकलनले चरा क्षेत्रमा काम गर्ने र अनुसन्धान गर्नेहरुलाई शिक्षा प्रदान गर्छ,” उनले भने ।

काजीले वरिष्ठ वनस्पविद् तीर्थबहादुर श्रेष्ठसँग पनि काम गरेका थिए । मकालु बरुण निकुञ्ज स्थापना हुनुअघि वनस्पतिबारे तीर्थबहादुर र चराप्रजातीबारे काजीले अनुसन्धान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *