काठमाडौं, ७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली बहुमत सांसदको समर्थन रहेको दाबी प्रस्तुत गर्दै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन् । उनले १४० प्रतिनिधि सभा सदस्यको साथ रहेको भन्दै पत्र बुझाएका छन् ।ओलीले नेकपा एमालेका १२१ र जनता समाजवादी पार्टीका १९ सांसदको साथ रहेको दाबी प्रस्तुत गरेका छन् । देउवाले बहुमतको दाबीसहित हस्ताक्षर लिएर शितलनिवास पुग्नु अगावै ओली पुगिसकेको बुझिएको छ । ओली र देउवा दुवैले बहुमतको दाबी गरेपछि सत्ता संघर्ष रोचक बनेको छ । यसअघि जसपाका १७ र माधव नेपालका २२ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए ।
देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाका १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गरेका छन् । उनले हस्ताक्षर राष्ट्रपति कार्यालय शितलनिवासमा बुझाएका हुन् ।देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहका सांसदको साथ रहेको छ ।
हस्ताक्षर गर्नेहरुमा काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाको १७ र बाँकी एमालेका माधव नेपाल समूहका सांसदहरु रहेका छन् । नेपाल समूहका २२ सांसदको हस्ताक्षर रहेको छ । उनीहरु प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन् जसपाका ३२ संसद रहेकामा १५ सांसदको हस्ताक्षर छैन । तर, महन्थ ठाकुर समूहले हस्ताक्षरमाथि प्रश्न उठाउने बुझिएको छ ।नेकपा एमालेबाट हस्ताक्षर गर्ने सांसदहरुबारे पनि प्रश्न उठ्ने बुझिएको छ ।
उनीहरु एमाले संसदीय दलबाट कारबाहीमा पर्न सक्छन् ।१४९ सांसदको हस्ताक्षर भएपनि राष्ट्रपति कार्यालयले त्यसलाई सदर गरेर मात्र प्रक्रिया बढाउने तयारी गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले ६ जेठको साँझ संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार गठनका लागि प्रतिनिधि सभाका सदस्यहरुलाई आव्हान गरेकी थिइन् । उनले आज साँझ ५ बजेको समयसीमा तोकेर सरकार गठनको आव्हान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धनको दौडधूप चलेको थियो ।