यो जानकारी फेसबुकमा पत्रकार बिकास थापाले राखेको स्टाटसबाट लिइएको हो । उनी फेसबुकमा एक तस्वीर सहित लेख्छन्, ‘आज बिहान घरबाट अफिस आउँदै थिएँ । कौशलटारको एउटा बैंकमा काम थियो । एकजना २४, २५ वर्षको युवा मेरो गाडीनेर उभिएको रहेछ । म बैंकबाट फर्कें । यी युवाले एउटा ठाउँमा फोन लगाइदिनु न भन्दै आए । किन? भनेर सोधें । उसले तपाईं प्रेसको मान्छे भएर सहयोग गरिदिनुहुन्छ कि भनेर भन्यो । मेरो गाडीमा प्रेस लेखेको देखेर मलाई कुरेर बसेको रहेछ ।
एकजना मान्छेले उसलाई सहयोग गर्छु भनेर नम्बर दिएको रहेछ । पछि फोन उठाउन छाडेछ । मैले मेरो मोबाइलबाट त्यो सहयोग गर्छु भनेको व्यक्तिलाई गरें । उठेन । अनि यी युवाले भने, हजुर म बाग्लुङबाट खोटाङ जान आएको । स्वयम्भूमा बसेर खाजा खान थालेको, दुई, चारजना केटाहरु आएर लु ट पा ट गरे ।
११ हजार पैसा थियो रे । झोला, मोबाइल, लगाएको ज्याकेट सबै लु टे र बेहोस बनाएछन् । यी युवा प्रहरीकोमा गए । प्रहरीले पत्ता लगाउन सकेनछ । १५० रुपैयाँ दिएर पठाएछ । यी युवा भन्दै थिए, तीन दिन भयो केही खाएको छैन । बा बितेर खोटाङको ऐंसेलुखर्क जान लागेको । म त बाटोमै म र्छु कि क्या हो सर ।
यी युवाको अवस्था देखेर मलाई दया लाग्यो । यिनलाई सहयोग गर्न मन लाग्यो । तर झूट बोलेर ठग्न खोजेको हो कि जस्तो पनि लाग्यो । पुष्टि गर्न खोजें । मोबाइल झिकें । गाउँ र वडा नं सोधें । गुगलबाट खोटाङको ऐंसेलुखर्क वडा नं १ को अध्यक्ष नाम पत्ता लगाएँ । वडाअध्यक्षको नाम सोधें । मिल्यो । गुगलमा भेटिएको ऐंसेलुखर्कको वडा अध्यक्ष राखा निवासी झनककुमार राईलाई फोन गरे । म रि गए पनि फोन लागेन । सम्पर्क हुन सकेन मात्र भन्यो ।
यी युवाले भने, ‘सरलाई पत्यार नलागे ठीकै छ ।’ उसले इतिवृत्त बतायो । चालढाल र बडी ल्यांग्वेजले पनि सही बताइरहेको जस्तो लाग्छ । कति पैसा लाग्छ घर जान भनें । १५०० त भाडै लाग्छ भन्यो । खल्तीबाट झिकेर तीन हजार रुपैयाँ दिएँ । पूर्ण पुष्टि हुन भने पाएन । यस्तो आपतको बेला झूट बोलेकै रहेछ भने पनि कसैलाई सहयोगै भयो भन्ने लाग्यो । यो घटनाले के देखाउँछ भने अनौपचारिक क्षेत्रमा काम गर्ने लाखौं नेपालीको गास छिनेको छ । भोकभोकै छन् । तर सरकारलाई जनताका यस्ता कुरामा सरोकार कहिल्यै हुँदैन ।’