मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नयाँ प्रधानमन्त्रीका लागि शुक्रवार साँझसम्म दाबी गर्न प्रतिनिधिसभा सदस्यहरूलाई आह्वान गरेपछि नेपालको राजनीतिमा नयाँ मोड आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै आफ्नो कदम र राष्ट्रपतिको बचाउ गर्दै आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन वा विकल्प दिन विपक्षीलाई चुनौती दिएका छन्।
यता जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरू उपस्थित बैठकले ओली सरकार आफ्ना माग पूरा गर्न सकारात्मक रहेको भन्दै थप निर्णय गर्ने अधिकार महन्थ ठाकुर र राजेन्द्र महतोलाई दिएको छ।
यसै क्रममा राष्ट्रपतिले तोकेको समयावधिमा केपी शर्मा ओली र शेरबहादुर देउवाले दाबी पेस गरेका छन्। राष्ट्रपतिले नयाँ सरकार गठनका लागि प्रस्ताव पेस गर्न दिएको समयावधि सकिएको छ। संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकारको गठन गर्नका लागि नेकपा एमालेका तर्फबाट केपी शर्मा ओलीले आफ्नो दाबी प्रस्तुत गरेका छन्।
विपक्षी गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दाबेदारी दिएका छन्। दुवै प्रस्ताव दर्ता भए/नभएको विषयबारे राष्ट्रपति कार्यालयसँग प्रतिक्रिया लिने बीबीसीको प्रयास सफल हुन सकेन।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आफूहरूसँग १५३ जना सांसदको समर्थन रहेको दाबी ओलीले पेस गरेका छन्। उता देउवाले भने १४९ जना सांसदको हस्ताक्षर बुझाएका छन् जसमा एमालेले आफ्नो दाबीमा पनि गणना गरेको उसका २६ सांसद र जनता समाजवादी पार्टीका १२ सांसदको हस्ताक्षर रहेको जसपा नेता मोहम्मद ईश्तियाक राईले बताएका छन्।
निलम्बित सांसदलाई समेत गणना गर्ने हो भने पनि प्रतिनिधिसभामा जम्मा २७१ सांसद छन् । तर रोचक कुरा त के छ भने ओली र देउवाले हस्ताक्षर बुझाएको संख्यालाई आधार मान्ने हो भने कुल सांसद संख्या ३०२ पुग्छ तर आफु संग संसदको संख्या धेरै रहेको दावी गर्ने ओली र देउवाले कुन आधारमा दावी गरे होलान ? कि संसद जोड घटाउ गर्ने हतारोमा हिसाबकिताबमा गडबड भएको पत्तै नपाएका त होइनन ? प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये चार सिट खाली छ । नेकपा माओवादी केन्द्रले एमालेतिर लागेका चार सांसदलाई कारवाही गरेपछि ती चार सिट रिक्त रहेको हो । अन्य चार सांसद निलम्बनमा छन् ।
राष्ट्रिय जनमोर्चाका एक सांसदले पनि देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् प्रतिनिधिसभामा एमालेका १२१ सांसद छन्। त्यस्तै काँग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९ र जसपाका ३२ सांसद छन्।