स्याङ्जामा एम्बुलेन्स दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् । आइतबार बिहान ४ बजे वालिङ नगरपालिका- ५ माझकोटस्थित वालिङ–चापाकोट भित्री सडक खण्डमा एम्बुलेन्स दुर्घटना भएको हो ।
काठमाडौंबाट चापाकोट फर्केको बा.२झ ४०११ नम्बरको एम्बुलेन्स सडकबाट करिब दुई सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
मृत्यु हुनेमा चापाकोट नगरपालिका- ९ बस्ने ३५ वर्षीय भानुभक्त गैरे र चापाकोट नगरपालिका १० बस्ने २५ वर्षीय श्याम पंगेनी रहेका छन् । उनीहरूको वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा परी चापाकोट नगरपालिका- ९ बस्ने ३१ वर्षीय एम्बुलेन्सचालक सुरेन्द्र भण्डारी र २८ वर्षीया पवित्रा पोख्रेल गम्भीर घाइते भएका छन् । उनीहरूको वालिङ प्राथमिक स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएकाे छ ।