महामारीको मौका छोपी अक्सिनज मास्कमा कालोबजारी, विराटनगरबाट एक व्यापारी पक्राउ
अक्सिजन मास्क (सिलिकन फुल फेस मास्क) कालोबजारी गरेको आरोपमा विराटनगरबाट एक व्यापारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–९ का ३१ वर्षीय भुपेन्द्रनाथ अधिकारी रहेका छन् ।
अधिकारी विराटनगर महानगरपालिका–७ कोसी अस्पतालअगाडि रहेको अधिकारी फार्मेसीका सञ्चालक हुन् । उनले सुनसरी दुहबी नगरपालिका–७ का ३७ वर्षीय श्याम चौधरीलाई ६ हजार ८८० रुपैयाँ पर्ने अक्सिजन मास्क ८ हजार ५०० मा बिक्री गरेको पाइएको थियो ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ साढे ५ बजेतिर अधिकारीलाई फार्मेसीबाटै पक्राउ गरिएको प्रहरी प्रवक्ता मानबहादुर राईले जानकारी दिए ।
डिएसपी राईका अनुसार पक्राउ परेका उनीमाथि कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ कसूरअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।