नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्। सोमबार अपरान्ह १२ बजे बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने भएको हो। पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउँसो १२ बजेपछि स्थायी कमिटी बैठक बोलाएका हुन् । यसअघि बसेको स्थायी कमिटी बैठकले माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
विपक्षी गठबन्धनमा सहभागी भएको भन्दै ओलीले पार्टीका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नेता भीम रावललगायत ११ जना सांसदलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन शनिबार पत्र पठाएका थिए। तर एमाले नेता झलनाथ खनाल र माधव नेपाल समूहका नेताहरुले ओलीलाई स्पष्टीकरण नबुझाउने भएका हुन्।
आफ्नो पार्टीको अध्यक्ष, दलको नेता, र प्रधानमन्त्रीलाई प्रधानमन्त्री पदबाट हटाउन विपक्षी दलहरुसँग मिलेको, विरोधीसँग मिलेर हस्ताक्षर गरेको र सरकार गिराउने गतिविधिमा संलग्न भएको भन्दै ओली पक्षले पार्टीका वरिष्ठ नेता नेपाल र खनाल, नेताहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा देवी जैरुलाई स्पष्टीकरण सोधेको थियो।
तर पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको नेता रावलले बताएका छन्। यसअघि भने ओलीले स्पष्टीकरण सोध्दा तोकिएकै समयमा असन्तुष्ट नेताहरुले स्पष्टीकरण बुझाउँदै आएका थिए।
स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप निर्णय लिन सक्ने अनुमान छ । गत शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरेपछि नेपाली कांग्रेसलगायत विपक्षी ५ दलले विरोध गरिरहेका छन्। एमालेकै नेता नेपाल पक्षले पनि प्रतिनिधि सभा विघटनको विरोध गरिरहेको छ।
विपक्षी ५ दलका सांसद आज सर्वोच्चमा रिट लिएर जान लागेका छन्। यही समसामयिक राजनीतिक घटनाक्रम र पार्टी भित्रका आन्तरिक विवादबारे, चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र छलफल हुने भएको हो । यसै बिषयमा छलफल गर्न ओलीले बैठक बोलाएका हुन्। देउवाको पक्षमा पार्टीका २६ सांसदले हस्ताक्षर गरेका भए पनि ओलीले ११ जनलाई मात्र स्पष्टीकरण सोधेका थिए।
आजको बैठकले आफ्नो निर्देशन पालना नगरेको र निर्णायक मोडमा विपक्षीलाई साथ दिएको निष्कर्षसहित एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका माधवकुमार नेपाल पक्षका २७ जना नेताहरुलाई निष्कासनको तयारी गरेका छन्। बालुवाटारमा शनिबार सुरु भएको आफू पक्षीय स्थायी कमिटी बैठकबाट उनको तयारीलाई औपचारिकता दिइने उनी निकट एक नेताले बताए।
पार्टीमा विवाद बढ्दै जाँदा एमाले फुटको डिलमा पुगेको छ। अब एकताको सम्भावना लगभग सकिएको नेताहरुले बताउन थालेका छन्। वरिष्ठ नेता माधव नेपालले औपचारिक रुपमै अर्कोपार्टी गठनको गृहकार्य सुरु भएको बताएका छन्।