काठमाडौं, २८ असार – काठमाडौं, गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलस्थित टहराबाट करिब १५ ग्राम अवैध लागूऔषध ब्राउन सुगर सहित सोही ठाउँ बस्ने तेह्रथुम सुङ्गनाम गाउँपालिका-४ घर भएका २६ वर्षीय दिपक तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्ध, बानेश्वर र प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको संयुक्त प्रहरीलेदिपकको कोठा जाँच गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै प्रहरीले उनको कोठाबाट ३ थान मोबाईल, नगद ८ हजार रूपैयाँ र प्रदेश नं. १-०१-०१५ प ५६३० नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ४ सय ९७ एम्पुल डाइजेपाम, ४ सय ९७ एम्पुल फेनारगन, ४ सय ९७ एम्पुल नुफिन, २ हजार भारतीय रुपैयाँ र १ थान भारतीय आधार कार्ड सहित भारत मोतिहारी महाबिर नगर रक्सौल–१९ घरभएका १९ वर्षीय बिशाल कुमारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ५०१६ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
सर्लाही, कोडैना गाउँपालिका-२ बस्ने २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका-२ बस्ने ३४ वर्षीय रोशन भन्ने बिजय कुमार घिमिरेलाई नियन्त्रित लागूऔषध सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकलमा सवार रितेशलाई लालबन्दी नगरपालिका-१ नवलपुर चोकबाट १ हजार ५ सय ट्याब्लेट नाईट्राभेट सहित र बिजय कुमारलाई ९० बोतल डाईलेक्स डिसीसहित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-८ पिपिरी बस्ने ३३वर्षीया खगिसरा सुनारलाई करिब ५ सय २० मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले खगिसराको घर तलासी गर्दा ९ वटा प्लास्टिकको पुरियामा रहेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, पथरी शनिश्चरे नगरपालिका-१ फिलिमहल लाईनबाट करिब ३ ग्राम २५ मिलीग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २४वर्षीय दिपेश शर्मालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दिपेशको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० प्रकाशहोटेल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-२ पुरानो मकवानपुर बस्ने ४८ वर्षीय उज्वल मानन्धर र सोही उपमहानगरपालिका-१० राम मन्दिर बस्ने ३६ वर्षीय रंजित आले मगर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उज्वलको साथबाट करिब १ सय मिलीग्राम र रंजितको साथबाट करिब ४० मिलीग्राम खैरो हेरोईन फेला पारी दुवैजनालाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ मेची पुलबाट करिब १३ ग्राम अवैध लागूऔषध हिरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेची नगरपालिका-१० बस्ने ३१ वर्षीय प्रदिप आले मगर र सोही नगरपालिका-८ चौधरी टोल बस्ने २० वर्षीय प्रशन्न राजवंशी रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले २ थान मोबाईल र नगद ३ हजार रूपैयाँ समेत बरामद गरेको छ ।
यसैगरी झापा, मेचीनगर नगरपालिका-९ चिवालनी गाउँबाट करिब १० किलोग्राम अवैध लागूऔषध गाँजा सोमबार साँझ प्रहरीले बरामद गरेको छ । प्र.१-०१-०१५ प ३७६७ नम्बरको मोटरसाइकलमा सवार अपरिचित व्यक्तिले ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकल छोडी फरार भएपछि जाँच गर्ने क्रममा २ वटा झोलामा रहेका उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।